पूर्वमेयर जिसीले लगाएका ठेक्का रद्द

पोखरा।पोखरा महानगरका पूर्वमेयर तथा पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष मानबहादुर जिसीले कार्यकालको आखिरमा लगाएको ठेक्का रद्द भएको छ । उक्त ठेक्का सम्झौता नगर विकास समितिको शुक्रबार बसेको बैठकले खारेज गर्ने निर्णय गरेको हो ।

उक्त ठेक्का मिलेमतोमा लगाइएको निष्कर्ष निकाल्दै समितिले रद्दको निर्णय गरेको हो । गत जेठ ३ गते मेयर जिसीले ६३ रोपनी जग्गा आफ्ना मान्छेलाई सुटुक्क दिएका थिए । गल्फ कोर्सको ४० रोपनी २५ वर्षका लागि ठेक्का लगाइएको थियो भने पर्यटक बसपार्कको १८ रोपनी र यातायात व्यवस्था कार्यालयअगाडिको ५ रोपनी १० वर्षका लागि दिइएको थियो ।

विषयमाथि छानबिन गर्ने गरी गत शनिवार कास्कीका नापी अधिकृत दिनेश काफ्लेको संयोजकत्वमा समिति बनेको थियो । उक्त समितिको प्रतिवेदनको आधारमा ठेक्का रद्द गरिएको हो । समितिले मिलेमतोमा गैरकानुनी बाटोबाट सम्झौता भएको प्रतिवेदन बुझाएको छ ।

ठेक्का दिँदाको सम्झौता पत्रमा केरमेट गरिएको पाइएको थियो । समितिका अध्यक्ष धनराज आचार्यले उक्त जग्गालाई थप अध्ययन गरेर पारदर्शी हिसाबले उपयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *