नेकपा विभाजनको साइड इफेक्ट : उपसभामुख कांग्रेसको पोल्टामा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । यो तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको साइड इफेक्ट हो ।

२०७४ सालको चुनावमा वाम मोर्चा बनाएर गएका नेकपा एमाले र माओवादी केन्द्रले झण्डै दुई तिहाइ मत ल्याएका थिए । वाम मोर्चा बनाए पनि पार्टी एकता नगरी संसद्को सभामुख, उपसभामुख, संसदीय विषयगत समितिमा दुई दलले कब्जा जमाएका थिए ।

प्रमुख प्रतिपक्षीलाई दिने बाध्यात्मक अभ्यासका कारण सार्वजनिक लेखा समितिको सभापति पद मात्रै कांग्रेसले पाएको थियो । यो बाहेक संसद् भित्रका पदहरूमा कांग्रेसको उपस्थिति शून्य थियो । तर, नेकपा विभाजन भएपछि एक पछि अर्को गर्दै कांग्रेसले संवैधानिक पदहरूमा उपस्थित जनाउन थालेको छ ।

२०७४ को चुनाव लगत्तै २ चैत २०७४ मा उपसभामुखको निर्वाचन हुँदा तत्कालीन वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी शिवमाया तुम्बाहाम्फे विजयी भएकी थिइन् । त्यसबेला तुम्बाहाम्फे २०१ मत प्राप्त गरी विजयी हुँदा पुष्पा भुसालले ५८ मत पाएकी थिइन् । तर, शुक्रवारसम्म आइपुग्दा नेपालको राजनीतिक दलहरूको अवस्था, दलीय समीकरण र सरकार फेरियो ।

भुसाल उपसभामुखमा १४८ मत ल्याएर विजयी हुँदा एमालेका तर्फबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरिन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा नेकपाबाटै थिए । संसद् सचिवालयकै कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिए । उनको राजीनामा पछि पनि सभामुख पद तत्कालीन नेकपाले नै राख्न चाह्यो । सभामुख लिन उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न लगायो ।

सभामुख र उपसभामुख फरक दलको र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यही कारण तत्कालीन उपसभामुख तुम्बाहाम्फेले १२ माघ २०७६ माघमा राजीनामा दिएपछि रिक्त भएको उपसभामुख पदका लागि शुक्रवार निर्वाचन भएको हो ।

विगतमा वामपन्थी एक हुँदा पराजित भुसालले यसपटक वामपन्थीहरूकै साथ प्राप्त गरिन् । भुसालले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित सांसदको समेत मत पाएर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

भुसाल उपसभामुखमा पराजित हुँदा नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता भइसकेको थिएन । तर, दुवै दल बाम मोर्चामा थिए । पछि पार्टी एकता नै गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए ।

कम्युनिस्टहरू एक हुँदै गर्दा उपसभामुखमा पराजित भुसालले कम्युनिस्टहरू विभाजित हुँदा जित हात पारेकी हुन् । तत्कालीन नेकपा एकता भंग भएपछि बनेको ब्युँतिएको नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले उपसभामुखमा भुसाललाई समर्थन गर्‍यो ।

२०७४ मा जस्तै यसपटक पनि एमाले आफ्नै उम्मेदवार उठायो । तर, एमालेका उम्मेदवार सांसद विद्या भट्टराई पराजित भइन । १४८ मत ल्याएर भुसाल विजयी हुँदा भट्टराईले ९३ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =