शेखरले दाेहाेर्याए- कांग्रेस एक्लै चुनावमा जानुपर्छ (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले गलत काम सबैकाे कार्यकालमा गलत नै हुने बताएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशकाे विषय झिक्दै उनले यस्ताे बताएका हुन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वकाे सरकारले ल्याएकाे संवैधानिक परिषद्सम्बन्धीकाे अध्यादेशकै प्रकृतिकाे अध्यादेश अहिलेकाे सरकारले पनि ल्याउन लागेकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘त्याे अध्यादेश केपीजीले नै पनि ल्याउनुभएकाे थियाे । त्यत्तिबेला पार्टी सभापतिजीले गैरसंवैधानिक भनेर वक्तव्य निकाल्नुभयाे । तर अहिले फेरि त्यही अध्यादेश आफैँले ल्याउने भनेर हिँड्नुभएकाे छ । यसमा हामी सचेत हुने कि नहुने ?’
यस्तै उनले नेपाली कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । शुक्रबार बिहान जनकपुर पुगेका उनले त्यहाँका कार्यकर्ताहरूलाई सम्बाेधन गर्दै भनेका छन्, ‘तपाईंहरू गठबन्धनकाे पक्षमा हुनुहुन्छ थाहा छ, तर गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडिको निर्णय गर्नुपर्छ । नभएर त्यहाँ रहनुकाे वा गठबन्धन गर्नुकाे कुनै अर्थ हुँदैन । बरु कांग्रेस एक्लै चुनावमा जाँदा फलदायी हुन्छ ।’
उनले आफूले जहिल्यै जनताकाे पक्षमा आवाजहरू उठाइरहेकाे दाबी गरेका छन् । केन्द्रीय समितिकाे बैठकमा पनि आफूले त्यही कुरा उठाएकाे उनले बताए । यस्तै उलने नेता/कार्यकर्ताहरूलाई सङ्घीय निर्वाचनकाे तयारीमा जुट्न पनि भनेका छन् ।








