गण्डकी प्रदेश : २५ दिनमा ३८ प्रतिशत बजेट खर्च

पोखरा । गण्डकी प्रदेश सरकारले चालू वर्षको हालसम्म २२ अर्ब ९ करोड बजेट खर्च गर्‍यो । साढे ३१ अर्बको बजेट ल्याएको सरकारले ७० प्रतिशत हाराहारी खर्च गरेको छ ।

जेठ मसान्तसम्म १३ अर्ब ६८ करोड खर्च भएको यहाँको बजेट असारको अन्तिमसम्म आइपुग्दा २२ अर्ब पुग्यो । असार महिनामा मात्रै साढे ८ अर्ब बजेट अर्थात् खर्च भएको मध्ये ३८ प्रतिशत बजेट निकासा गएको छ ।

यस्तै, २५ दिनमा ११ जिल्लाका सरकारी कार्यालयबाट ११ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक केशव ढकालले जानकारी दिए ।

असार लागेपछि काम सुरु गर्ने र एकै महिना फर्स्यौट गर्ने परम्परागत रोग गण्डकीमा पनि कायम छ ।

यो वर्ष पुँजीगत तर्फको खर्च दर भने बढेको देखिएको छ । १२ अर्ब ६० करोड चालू र १८ अर्ब ५२ करोड पुँजीगत बजेटमध्ये चालूतर्फ ७ अर्ब ६३ लाख र पुँजीगत तर्फ १४ अर्ब ४५ करोड खर्च भएको लेखा नियन्त्रक कार्यालयले जनाएको छ । ठूला आयोजनाले समयमा काम नगरेका कारण धेरै बजेट खर्च हुन नसकेको ढकाल बताउँछन् ।

यहाँ कार्यान्वयन गर्ने निकाय बढेको छ । ७ मन्त्रालयबाट १२ मन्त्रालय विस्तार भएको छ । जिल्लामा आफ्नै विकास कार्यान्वयन कार्यालय स्थापना भएका छन् । पहिले भन्दा कर्मचारीको संख्या दोब्बर बढेको छ । तर खर्च प्रतिशत बढेको छैन ।

गण्डकीको बजेट खर्च अरू प्रदेशभन्दा बढी रहेको दाबी सरकारको छ । असारमा सबैभन्दा बढी बजेट खर्च कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले गरेको छ । चालू वर्षमा सबैभन्दा बढी खर्च गर्ने मन्त्रालय चाहिँ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय हो ।

उक्त मन्त्रालयले करिब ९० प्रतिशत खर्च गरेको छ । सबैभन्दा कम अर्थ मन्त्रालयले ४४ प्रतिशत बजेट खर्च गरेको छ । सरकारले यो वर्ष बजेट खर्च ८० प्रतिशत कटाउने लक्ष्य लिएको थियो । सरकारी लक्ष्य पूरा हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *