केन्द्रीय समितिमा देउवाको चेतावनी- ‘मलाई धेरै नजिस्काउनुस्, विधान संशोधन गरेर फेरि सभापति बन्न सक्छु’

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आगामी संसदीय निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा तीव्र बहस भइरहेको छ । सभापति शेरबहादुर देउवा गठबन्धन गरेर जानुपर्ने पक्षमा रहेको छ भने डा. शेखर कोइराला पक्ष गठबन्धन गर्न नहुने पक्षमा छ ।
बुधबारको बैठकमा भएको घोचपेचमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आफूलाई धेरै नजिस्काउन चेतावनी दिए । कोइराला पक्षका सांसद तथा केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गरेर पार्टीलाई घाटा हुने विचार व्यक्त गरेपछि देउवाले तत्काल जवाफ दिँदै गठबन्धन नगरे तपाइले चुनाव जित्न सक्नुहुन्छ त ? भन्दै प्रश्न गरे ।
देउवाले यस्तै कुरा गरिरहे आफू विधान संशोधन गरेर फेरि सभापति हुन सक्ने भन्दै धेरै नजिस्काउन चेतावनी दिए । ‘मलाई धेरै नजिस्काउनुस् । गठबन्धन गरेर चुनाव जिताएर बलियो पार्टी बनाएर योग्य नेतालाई नेतृत्व छाड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु ।’ देउवाले भनेका थिए ।








