स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोश्रो खेलमा नेपालले स्कटल्याण्डमाथि ५ विकेटको जित हासिल गरेको छ । स्कटल्याण्डले दिएको १४५ रनको लक्ष्य पछाएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्याण्डलाई हराउँदै इतिहास रचेको हो । नेपाललाई जिताउने क्रममा आसिफ सेखले ७१ रन बनाएका थिए । आसिफले ६२ बलमा १० चौका र एक छक्कासहित ७१ रन रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २७, रोहित पौडेलले अविजित ३४, देव खनालले ४ र दिपेन्द्र सिंह ऐरीले ३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ४२.५ ओभरमा १४४ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले उत्कृष्ट बलिङ गरेका थिए । दुवैले ३-३ विकेट लिएका थिए । सोमपालले १० ओभरमा ४० रन दिएर ३ विकेट लिए भने आदीलले १० ओभरमा एक मेडनसहित ३१ रन दिएर ३ विकेट लिएका थिए । कप्तान सन्दीप लामिछानेले २ र करण केसी र दिपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका थिए ।

स्कटल्याण्डका ब्याट्सम्यान गाभिन मैनले सर्बाधिक ६४ रन बनाए भने मार्क वाटले १७, साफयान शरिफले १६ र कलम म्याकलियोडले १३ रन बनाएका थिए । स्कटल्याण्डका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउने सकेका थिएनन् ।

विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डले अहिलेसम्म २१ खेलमा ३० अंकसहित दोस्रो स्थानमा छ भने यो जितपछि नेपालको १८ खेलमा १७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । यो सिरिज खेलिरहेको नामिबियाको १६ खेलमा १६ अंकसहित छैटौं स्थानमा झरेको छ । अब सिरिज अन्तर्गत नेपालले आगामी शनिबार नामिबिया र आइतबार स्कटल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *