भानु जयन्तीका अवसरमा एभरेस्टमा कविता प्रतियोगिता, उजागर नेपाल प्रथम

विराटनगर । २०९ औँ भानु जयन्तीको अवसरमा विराटनगर– ५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शीर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम भएका छन् ।

यस्तै विचार शीर्षकको कविता वाचन गर्नुभएका पुष्पराज तिम्सिना द्वितीय र ओजस्वी कर्ण तृतीय भएका छन् । प्रतियोगिताका विजयीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कवि मीनकुमार श्रेष्ठ र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले प्रमाणपत्र र नगद हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै कवि तथा पत्रकार मीनकुमार श्रेष्ठले एभरेस्ट विद्यार्थीहरूको चौतर्फी विकासका निम्ति बनाएको वातावरणको प्रशंसा गर्दै कला र साहित्य सधैँ जीवन्त रहने चर्चा गरे ।

उनले कला र साहित्य सधैँ अमर रहने भन्दै सबै पेसा व्यवसाय पूर्व हुने तर कला साहित्य पूर्व नहुने बताए । विद्यालयका प्रिन्सिपल पुरीले विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति सबै किसिमको वातावरण तयार गर्दै लगेको भन्दै विद्यार्थीले पनि अध्ययनको साथ साथै आ–आफ्नो रुचिअनुसारका क्रियाकलापमा सक्रिय सहभागिता जनाउन आग्रह गरे । उनले भने,‘हाम्रा विद्यार्थी जुन क्षेत्रमा लागे पनि सबैभन्दा अब्बल हुनुपर्छ भन्ने चाहना छ, हामी वातावरण बनाइदिन्छौँ, मेहनत तपाईंहरूले गर्नुपर्छ ।’

कार्यक्रममा विद्यालयका सह प्राचार्य टी एन भण्डारीले छोटो समयमा विद्यार्थीले जनाएको सक्रिय सहभागिताको प्रशंसा गर्दै, जे गर्दा पनि अब्बल बन्नेगरि लाग्न सुझाव दिए । खुल्ला रूपमा विद्यार्थीहरूबिच गरिएको प्रतियोगितामा विभिन्न शीर्षकमा कविता वाचन भएको थियो । तीमध्ये उत्कृष्ट तीन छनौट गर्न माधव खतिवडा र खम्बसिंह नेपालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *