आयुर्वेदप्रति बिरामीको भरोसा बढ्दै

सुर्खेत । प्रदेश आयुर्वेद औषधालयप्रति बिरामीहरूको भरोसा बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँमा रहेको प्रदेश आयुर्वेद औषधालयमा उपचारका लागि बिरामीहरूको भरोसा बढ्दै गएको हो ।

विगत तीन वर्षको तथ्याङ्क हेर्दा उपचार गर्न आउने बिरामीको संख्या बढेको छ । सोमबार प्रदेश आयुर्वेद औषधालयले आर्थिक वर्ष २०७८/०७९ को प्रगति तथा आयुर्वेदिक सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै आयुर्वेदिक उपचार गर्ने आएका बिरामीहरूको तथ्याङ्क  सार्वजनिक गरेको छ ।

विगत तीन वर्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा २८ हजार तीन सय ५५, आर्थिक वर्ष २०७७/०७८ मा ३० हजार चार सय ३६ र आर्थिक वर्ष २०७८/०७९ मा ४० हजार ८५ जनाले सेवा लिएका छन् । कार्यालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा गत वर्ष भन्दा करिब १० हजार धेरै सेवाग्राहीहरूले सेवा लिएका बताए ।

डाक्टर रिजालका अनुसार आर्थिक वर्ष ०७८/७९ मा साधारण उपचार २२ हजार सात सय ४९ जना, पञ्चकर्म ६ हजार पाँच सय पाँच, स्तनपायी दुई सय ५०, जेष्ठनागरिक सात हजार चार १२, निःशुल्क स्वास्थ्य शिविर एक हजार पाँच सय १८, गाउँघर क्लिनिक एक हजार ६ सय एक, क्षारसुत्र ४८ र कोभिड–१९ का तीन बिरामी गरेर जम्मा ४० हजार ८५ जनाले सेवा लिएका हुन् ।

४४ प्रकारका औषधी निःशुल्क

यस्तै, प्रदेश आयुर्वेद औषधालयले ४४ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आएको छ । ओपिडी सेवा, प्रयोगशाला सेवा, क्षारसुत्र सेवा, पूर्वकर्मरपंचकर्म सेवा (बिहानी तथा दिवा सेवा), जेष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रर्वदन कार्यक्रम, स्तनपायी आमाका लागि निःशुल्क स्तन्यवर्धक औषधी वितरण सेवा दिँदै आएको छ ।

स्वास्थ्य जीवन–जीवनशैली व्यवस्थापन दैनिक योग ध्यान, जनचेतनामूलक कार्यक्रम तथा आयुर्वेद, जडीबुटी सम्बन्धी जनचेतना मूलक कार्यक्रम, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, एक्सरे सेवा, भिडियो एक्सरे, सःशुल्क फार्मेसी सेवा सञ्चालनमा रहेका औषधालयका प्रमुख डाक्टर रिजालले बताए । औषधालयले अबको आर्थिक वर्षमा फिजियो थेरापी सेवा र अंकुपंचर सेवा विस्तार गर्ने योजना समेत बनाएको छ ।

जनशक्तिको अभाव 

औषधालयमा दरबन्दी न्यून भई जनशक्ति अभावका कारण सेवा सुचारु गर्न असजिलो भएको छ । औषधालयलाई आवश्यक दरबन्दीका विषमा कर्णाली प्रदेश सरकारलाई जानकारी दिँदा समेत हालसम्म कुनै चासो नदिएको कार्यालयले गुनासो गरेको छ । हाल १७ जना दरबन्दी गरेको औषधालय कार्यालयमा ८ जना मात्रै कर्मचारी रहेका छन् ।

निर्माण भइरहेको भवनमा भौतिक पूर्वाधारको अभाव, स्वास्थ्य विमा कार्यक्रमसँग आयुर्वेदलाई नजोड्नु र धेरै नागरिकको बिमाको माग, भौतिक पूर्वाधार, जनशक्तिसहितको प्रदेशस्तरीय रिफरल तथा सुविधा सम्पन्न आयुर्वेद अस्पतालको रूपमा विकास हुन सकेको छैन ।

यस्तै, औषधालयले प्रदेशमा भएका जडीबुटीको अध्ययन गरी सदुपयोगका लागि जोन, सुपर जोन, ब्लक, पकेट क्षेत्र आदी छुट्टाउनु माग सरकार समक्ष राखेको छ ।

प्रदेश सरकारको उपेक्षा

प्रदेश आयुर्वेद औषधालयले आफूलाई प्रदेश सरकारले उपेक्षा गरेको बताएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा ल्याएको नीति तथा कार्यक्रममा समावेश गरिएको योजना बजेटमा नसमेटिएको गुनासो गरेको छ ।

औषधालयमा केही विभिन्न मितिमा सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दरबन्दी तेरिजसहितको प्रदेश स्तरीय आयुर्वेद अस्पताल निर्माणको लागि प्रस्ताव गरी पठाए पनि कुनै चासो नदिएको  औषधालयको  गुनासो रहेको छ ।

यस्तै, केन्द्र सरकारबाट आयुर्वेद अस्पताल र औषधी निमार्णतर्फका दुई भवन निमार्ण कार्य सञ्चालन भइरहेको प्रमुख डाक्टर रिजालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *