अर्थमन्त्रीमाथि आजदेखि छानबिन शुरू

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि लागेकाे आरोपबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आजबाट काम शुरू गर्ने भएकाे छ । असार २२ गते संसद्मा बनेको ११ सदस्यीय छानबिन विशेष समितिले आजबाट कार्याप्रारम्भ गर्ने भएको हो ।
अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न विशेष समिति गठन गरिएको थियो । उक्त समितिकाे पहिलाे बैठक असार २४ गते सभामुख अग्निप्रसाद सापकाेटाकाे राेहबरमा बसिसकेकाे छ । उक्त बैठकमा सभामुख सापकोटाले कार्यदिशा दिएका छन् । अब समितिकाे पहिलाे बैठक बस्नेछ र सभापति छान्नेछ । त्यसपछि कार्यआरम्भ गर्ने समितिका एक सदस्यले बताए ।
उनकाअनुसार २ देखि ३ दिनभित्र काम सकाउनेगरी समितिले काम गर्नेछ । समितिको कार्यअवधि १० दिनको छ । अनधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करको दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री शर्माले २२ गते नै राजीनामा दिएका थिए । अब यदि उनी निर्दोष ठहरिए भने पुनः अर्थमन्त्रीका रूपमा मन्त्रालय फर्किनेछन् ।








