गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउनुपर्छ : योगेश भट्टराई

धनगढी । संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको टोलीले आइतबार कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजको अनुगमन गरेको छ । संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको टोलीले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउनुपर्ने बताएका छन् ।

निरीक्षणका क्रममा समितिका टोलीले गेटा मेडिकल कलेजको स्थलगत निरीक्षण गर्दै शिक्षा मन्त्रालय मातहत रही निर्माणाधीन गेटा मेडिकल कलेजलाई आफ्नै छुट्टै विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिए ।

त्यस क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व पर्यटन, नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेको बताए । उनले यहाँ विश्वविद्यालय सञ्चालन गर्नुपर्ने बताए । विकास र मानव विकास सूचकांकका हिसाबले पछाडि परेको सुदूरपश्चिममा गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयकै रूपमा अगाडि बढाउन सकियो भने राष्ट्रकै लागि राम्रो हुने उनले बताए ।

टोलीसँगै रहेका पूर्व वन तथा वातावरण मन्त्री नारदमुनि रानाले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयकै रूपमा विकास गरिनुपर्नेमा जोड दिए ।’गेटा मेडिकल कलेजमा भौतिक पूर्वाधारको काम ९० प्रतिशत सकिएको छ’, उनले भने ।

मेडिकल कलेजका भौतिक पूर्वाधार निर्देशक हेमराज पुजाराले अस्पताल चलाउन आवश्यक पर्ने पूर्वाधार दुई अघि नै तयार गरिएको जानकारी दिए । उनले थप संरचना बनाउने काम पनि जारी रहेको बताए ।

संघीय सांसद चित्रकला यादवले मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्नुपर्ने बताइन् । उनले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेकाले यसको थप विकासमा सहयोग हुने प्रतिबद्धतासमेत जनाइन् ।

अनुगमन टोलीमा सांसद भट्टराई, अञ्जना विशंखे, चित्रलेखा यादव, नवीन लामा, भैरवबहादुर सिंह, मानबहादुर विश्वकर्मा, डा. दीपक भट्ट र नारदमुनि रानाको सहभागिता रहेको थियो ।

गेटामा मेडिकल कलेजका संरचना बनिइसक्दा पनि सञ्चालनका लागि सरकारले कुनै कदम नचालेको भन्दै सुदूरपश्चिमबासी आन्दोलित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *