इमानदारले चुनाव लड्न गाह्राे छ : सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन पैसाकाे खाेलाे बग्ने भएकाले इमानदारले चुनाव लड्न गाह्राे हुने गरेकाे बताएका छन् ।
शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमुना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उनले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा असल उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विसंगति देखा परेकाे बताएका हुन् ।
उनले भने, ‘यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा । त्यो भनिसाध्य छैन । असल, इमान्दार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ । तर, अहिले के संकेत देखिन थालेको छ भने राम्रोसँग हामीले अभियान छेड्न सक्यौ भने, राम्रोसँग हामीले जनतामा गएर चाहिँ यी विकृति र विसंगतिका विरुद्धमा चाहिँ अभियान चलाउन सक्यौं भने वास्तवमा फेरी धेरै पैसा खर्च नगरीकन जित्ने पनि छन् ।’
त्यस्तै, सभामुखले धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौँ, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको समेत बताए ।








