लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

काठमाडौँ । राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता बढाएको छ।
दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले आजबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभाबी चलाउने चालकलाई कारबाही गरेको जानकारी दिए । “सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याएका हौँ”, उनले भने।
ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलो पटक रु. पाँच सय, दोस्रो पटक रु. एक हजार र तेस्रो पटक पछि रु. एक हजार पाँच सय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।
यस आवमा १२ हजार ८६८ चालकलाई लेन अनुशासनमा कारबाही गरी जनचेतनामूलक कक्षा दिइसकेको छ ।
ट्राफिक प्रहरीले सिसिटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेन अनुशासनको अनुगमन गरी कारबाही गर्दै आएको छ ।
सिसिटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवानासमेत गर्ने गरेको छ ।
लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।








