चारवटा निर्णयपछि बस्यो कर्णाली प्रदेशसभा बैठक

सुर्खेत । असार १२ गतेदेखि अवरुद्ध हुँदै आएको कर्णाली प्रदेश सभाको बैठक बसेको छ । शुक्रवार बिहान बसेको सर्वदलीय बैठकले विभिन्न चारवटा निर्णय गरेपछि प्रदेशसभा बैठक बसेको हो ।
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेश सभाको दसौँ अधिवेशनको बैठकका कारबाही लगायतका विषयमा चार वटा निर्णय गरेको हो ।
जसमा मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्बन्धनमा प्रस्तावित योजनाहरूको एकमुष्ट रूपमा फिर्ता लिने र विनियोजन रकम यथावत् राखी साउन मसान्तसम्म कार्यविधि सम्मत योजनाहरू छनौट गरिसक्नु पर्ने निर्णय भएको छ ।
यस्तै, विनियोजन किताबमा कर्णाली प्रदेशसभा बाहिरका भौगोलिक क्षेत्रलाई समावेश भएका सबै योजनाहरूको नाम हटाउने, पन्ध्र लाख भन्दा कम रकम विनियोजन गरिएका योजनाहरूका हकमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साना सिँचाई बाहेक अन्य नयाँ योजनाहरू कार्यान्वयन नगर्ने निर्णय भएको छ ।
यस्तै, निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमको सम्बन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रहरूमा सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमतिमा योजनाहरू छनौट गर्ने गरी कार्यविधि संशोधन गर्ने निर्णय भएका छन् ।
उक्त बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेल, संसदीय दलका नेता (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही, एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाही, राप्रपा की प्रदेश सभा सदस्य शोसीला शाही र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट सहभागी भएका थिए ।








