जग्गा विवादपछि पूर्व मेयर जिसीका ज्वाइँ इटाली उडे

पोखरा । पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसीका ज्वाइँ इटाली उडेका छन् । पूर्व मेयर जिसीले आफ्नो कार्यकालको सकिन २ दिन मात्रै बाँकी रहँदा ज्वाइँ राम भण्डारीसहितलाई ठेक्कामा दिएको खुलेको छ ।

स्रोतकाअनुसार राम भण्डारीकै दबाबमा जिसीले महत्वपूर्ण जग्गाहरु ठेक्का दिएका थिए । ठेक्का आलोचित भएपछि भण्डारी इटाली उडेका हुन् । उनलाई सम्पर्क गर्न खोज्न उनीसँग सम्पर्क हुन सकेको छैन । भण्डारी व्यक्तिगत काम देखाएर इटाली गएको पारिवारिक स्रोतले बतायो ।

थप : कार्यकालको आखिरीमा पूर्व मेयरले ज्वाइँलाई दिए ६३ रोपनी सरकारी जग्गा

पर्यटन बसपार्कको १८ रोपनी, गल्फ कोर्सको ४० रोपनी र यातायात व्यवस्था कार्यालय आडमा रहेकाे ५ रोपनी जग्गा कसैलाई थाहा नहुने गरी जिसीले ३ वटा निर्माण कम्पनीलाई ठेक्का दिए ।

पर्यटन बसपार्क सञ्चालनका लागि शिला शालिग्राम निर्माण सेवासँग सम्झौता भएको छ । २१०४ साल जेठ मसान्तसम्म रहने गरी २५ वर्षका लागि ठेक्का दिइएको सम्झौता पत्रमा उल्लेख छ । उक्त जग्गाको मासिक भाडा २ लाख ७५ हजार तोकिएको छ । जग्गामा निर्माण कम्पनीले अस्थायी संरचना निर्माण गर्न पाउने छ भने निर्माण कम्पनीले चाहना राखे ठेक्का रद्द गर्न मिल्ने सुविधा दिइएकाे छ । कम्पनीका तर्फबाट छविलाल कुँवरले हस्ताक्षर गरेका छन् भने समितिको तर्फबाट अध्यक्ष मानबहादुर जिसी रहेका छन् । नगर विकासको तर्फबाट अशोक सुनार र रामजी जिसी साक्षी बसेर उक्त ठेक्का दिइएको हो ।

यस्तै, एक्सन विल्डर्स प्रालिलाई गल्फ कोर्स क्षेत्रको ४० रोपनी जग्गा १० वर्षका लागि ठेक्का लगाइएको छ । मासिक २ लाख ७२ हजार भाडा तिर्ने गरी उक्त जग्गा ठेक्कामा दिने निर्णय गरिएको हो । कम्पनीका अध्यक्ष विष्णु भण्डारीले हस्ताक्षर गरेर ठेक्का लिए । उनी मेयर जिसीका छोरी ज्वाइँको सहोदर भाइ हुन् । राइजिङ कन्स्ट्रक्सन प्रालिलाई करिब ५ रोपनी जग्गा दिइएको छ । कम्पनीका गिरबहादुर पुनले मासिक १ लाख २५ हजार मासिक भाडा तिर्ने गरी ठेक्का लिएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *