पूर्व मेयर जिसीले सुटुक्क दिएका जग्गाको ठेक्का रद्द गर्ने तयारी

पोखरा । पदावधि सकिनु २ दिनअघि पोखराका महत्त्वपूर्ण सरकारी जग्गा मेयर मानबहादुर जिसीले सुटुक्क निजी क्षेत्रलाई ठेक्कामा दिएपछि चौतर्फी आलोचना भएको छ । उक्त ठेक्का रद्द गर्न उपत्यका नगर विकास समितिले तयारी थालेको छ ।

समितिका सदस्य सचिव बलराम रिज्यालले ठेक्काबारे छलफल गर्नका लागि शनिबार बोर्ड बैठक डाकिएको बताए । जिसीले समितिका सदस्य र कर्मचारीलाई समेत लुकाएर सम्झौता गरेको भन्दै उक्त सम्झौता खारेज हुने उनको भनाई छ । ‘ठेक्का दिने कुरा कसैलाई जानकारी छैन । यति अपारदर्शी हिसाबले बहुमूल्य जग्गा दिन मिल्छ ?,’ उनले भने, ‘यही छलफल गर्न बैठक आह्वान गरिएको छ । समितिले निर्णय गरेर ठेक्का खारेज हुन्छ ।’

सम्झौताबारे अध्ययन गर्न छुट्टै समिति गठन गर्ने उनले बताए । ‘नगर विकास समिति र महानगरपालिका नजोडिने गरी स्वायत्त उच्चस्तरीय समिति गठन गर्छौँ । समितिको सिफारिसका आधारमा थप निर्णय हुन्छ,’ उनले अघि भने, ‘ठेक्का गलत छ भन्ने कुरा सामान्य मान्छेले पनि बुझिसकेका छन् ।’

याे पनि : कार्यकालको आखिरीमा पूर्व मेयरले ज्वाइँलाई दिए ६३ रोपनी सरकारी जग्गा

जिसीले जेठ ३ गते अपारदर्शी हिसाबले ६३ रोपनी जग्गा ३ वटा कम्पनीलाई छुट्टाछुट्टै सम्झौता गरेर दिएका थिए । नगर विकास समितिको नाममा पोखराको विभिन्न ठाउँमा रहेका बहुमूल्य जमिन आफ्नै ज्वाइँका भाइ र नजिकका ठेकेदारहरूलाई ठेक्का दिएका हुन् । गल्फ कोर्समा रहेको ४० रोपनी, पर्यटन बसपार्कको १८ रोपनी र यातायात व्यवस्था कार्यालय आडमा रहेको ५ रोपनी जग्गा सुटुक्क निजी कम्पनीलाई दिएका हुन् ।

जिसीले भने टेन्डर बाटै कानुनी प्रक्रिया पुर्‍याएर ठेक्का दिएको दाबी गरेका छन् । उनले ठेक्का गलत भए नयाँ समितिले खारेज गर्न सक्ने विज्ञप्ति मार्फत भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *