फ्लोअप

पोखराका सरकारी जग्गा : व्यापारी र राजनीतिक दलको कब्जामा

पोखरा । पोखराको पृथ्वीचोक सबैभन्दा बढी आवतजावत हुने क्षेत्र हो । पोखरा छिर्ने र निस्किने मुख्य द्वार यहाँ उपत्यका नगर विकास समितिका नाममा बहुमूल्य जग्गाहरू छन् । चोकबाट उत्तरतर्फ विभिन्न राजनीतिक पार्टीको भ्रातृ संगठनका भवन देखिन्छन् । आडैमा हङकङ बजार छ । यी सबै संरचना नगर विकास समितिको जग्गामा बनेको हो ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका भ्रातृ संगठनले समितिको नाममा रहेका जग्गामा संरचना बनाएर व्यापारिक प्रयोजनमा बेचिरहेका छन् । बसपार्क निर्माण गर्नका लागि अधिग्रहण भएका जग्गाहरूमा अहिले अधिकांश पार्टीका कार्यालयहरू छन् । पृथ्वीचोकमा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) ले दुईवटा भवन बनाएको छ । माथिल्लो तलामा कार्यालय छ भने तल्लो तलाहरू सटर बनाएर भाडामा लगाइएको छ । नजिकै कांग्रेसको मजदुर संगठनको भवन छ । पोखरा बसपार्कबाट सारेर ट्रेड युनियन कांग्रेसले ३ तले भवन बनाएको हो । उसले पनि माथिल्लो तलामा कार्यालय राखेर तल्लो तला भाडामा लगाएको छ ।

चाइनिजपुल नजिकै रहेको जग्गामा तत्कालीन वाईसियल क्याम्प र माओवादीको मजदुर संगठनको कार्यालय हटाएर यातायात कार्यालय बनाइयो । माओवादीका संगठनहरुले आडैमा सरकारी जग्गा ओगटेर अखिल नेपाल ट्रेड युनियनको कार्यालय बनाएको छ । ट्रेड युनियन महासंघ सँगै अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल मजदुर निर्माण संघको कार्यालय अहिले एकैठाउँमा छ ।

राजनीतिक पार्टीका संघ, संगठनहरुले अरूलाई देखाउँदै आफूले पनि सहुलियत पाउनुपर्ने माग राख्दै आएका छन् । राजनीतिक संघ संगठन मात्रै होइन, सामाजिक संघ संस्था र व्यक्तिहरूले पनि सस्तोमा जग्गा लिएर व्यापारिक प्रयोजनमा प्रयोग गरेका छन् । पोखराको पार्दीमा रहेको साढे २ रोपनी जग्गा राम अधिकारीले भाडामा लिएर व्यापारिक प्रयोजनमा लगाएका छन् ।

मुस्ताङचोकमा रहेको १ रोपनी ८ आना जग्गा सूर्य कन्स्ट्रक्सनले वार्षिक ५० हजार भाडामा लिएको छ । मुस्ताङचोककै सटरपछाडी परमेश्वर आचार्यले वार्षिक ४० हजार भाडा तिर्ने गरी १ रोपनी जग्गा भाडामा लिएका छन् । निर्माण व्यवसायी समितिले ३ रोपनी जग्गा वार्षिक ४८ हजार तिर्ने गरी सटर बनाएर बेचेको छ । कृषि उपज बजार सञ्चालक समितिले ४६ रोपनी जग्गा आम्दानीको १७ प्रतिशत तिर्ने गरी सटर बनाएर बेचेको छ । त्यहाँ तरकारी तथा फलफूलको मण्डी चलाइएको छ ।

गल्फ ड्राइफिङ रेन्जले वार्षिक ३ लाख तिर्ने गरी ४० रोपनी जग्गा भाडामा लिएको थियो । अहिले पूर्व मेयर मानबहादुर जिसीले उक्त जग्गा मासिक २ लाख ७५ हजार लिने गरी सुटुक्क ठेक्का लगाएका छन् । मुस्ताङचोकमै रहेको सपिङ कम्प्लेक्स अमित विल्डर्सले मासिक १ लाख ३३ हजार २ सय ११ तिर्ने गरी १ वर्षको लागि भाडा नवीकरण गरेको छ । यो कम्प्लेक्स १ रोपनी ६ आना जग्गामा निर्माण भएको हो ।

प्रदर्शनी केन्द्र नजिक रहेको १ रोपनी ६ आना जग्गा चेतभक्त पौडेलले २६ हजार ७२१ मासिक भाडा तिर्ने गरी ठेक्का लिएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले अदालतको आडमा रहेको ३ रोपनी ५ आना जग्गा वार्षिक १५ हजार तिर्ने गरी भाडामा लिएर ठूलो भवन बनाएको छ । आडैमा रहेको १ रोपनी ८ आना जग्गामा नेपाल पत्रकार महासंघले वार्षिक ३ हजार मात्रै तिर्ने गरी भाडामा लिएर कार्यालय भवन बनाएको छ ।

त्यसकै छेउमा रहेको ३ रोपनी ४ आना जग्गा रोटरी क्लब लेकसाइडले मासिक ३२ हजार ५ सय भाडा तिर्ने गरी १० वर्षका लागि भाडामा लिएर मिर्गौला उपचार केन्द्र बनाउन लागेको छ । यद्यपि यसको काम भने सुरु भैसकेको छैन । शान्ति वन बाटिकामा रहेको ४ रोपनी जग्गा शान्तिघाट विकास समितिले वार्षिक १५ हजार भाडा तिर्ने गरी लिएर सटर बनाएर बेचेको छ । पोखरा १७ को गल्फ जाने बाटोमा रहेको १३ आना जग्गा आनन्द केसीले मासिक ९ हजार १ सयमा लिएका छन् । यातायात कार्यालय अगाडीका सटरहरू सूर्य क्षेत्री, तारा कार्की, यम पौडेल लगायतले मासिक १ लाख १५ हजार तिर्ने गरी ५ वर्षको लागि भाडामा लिएका छन् । गायक प्रजापति पराजुलीले बागलुङ बसपार्क नजिकको २ आना जग्गा मासिक १ हजार भाडा तिर्ने गरी ५ वर्षका लागि भाडामा लिएका छन् ।

पृथ्वीचोकमा रहेको जग्गामा सीतामाया रानाले ३ रोपनी जग्गा वार्षिक ४५ हजार तिर्नेगरी भाडामा लिएर नर्सरी लगाएकी छिन् । शान्तिवन अगाडीको मासु पसल हर्कमान शाही लगायत ११ जनाले मासिक १४ हजार भाडा तिर्नेगरी लिएका छन् । यातायात व्यवस्था कार्यालयले मासिक ६० हजार भाडा तिर्नेगरी ४ रोपनी जग्गा लिएको छ । पृथ्वीचोकमा रहेको ३ रोपनी जग्गा मिलन तिवारीले १ लाख ९८ हजार वार्षिक भाडा तिर्नेगरी लिएर सटर बनाएर बेचेका छन् । त्यहाँ सयौँ सटर छन् भने एउटै सटरबाट ३० हजार हाराहारी आम्दानी लिँदै आएका छन् । चाइनिज पुल आडमा रहेको १४ आना जग्गा वार्षिक ५४ हजार भाडा तिर्नेगरी देवीमाया गुरुङले लिएर नर्सरी चलाएकी छिन् ।

बागलुङ बसपार्क अगाडीको २ आना जग्गा महिला उत्थान जागरण केन्द्रले आम्दानीको ५० प्रतिशत तिर्ने गरी भाडामा लिएर सटर चलाएका छन् । पोखरा बेसस् सेवा समितिले त्यही क्षेत्रका १६ रोपनी जग्गा मासिक २५ हजार भाडा तिर्नेगरी लिएका छन् । अहिले पूर्व मेयर मानबहादुर जिसीले थप ३ ठाउँका जग्गा भाडामा लगाइदिएका छन् । गल्फ कोर्स क्षेत्रको ४० रोपनी, टुरिष्ट बसपार्क क्षेत्रको १८ रोपनी र यातायात व्यवस्था कार्यालय क्षेत्रको ५ रोपनी जग्गा सस्तोमा १० देखि २५ वर्षसम्मका लागि भाडामा दिइएको हो । पोखरा उपत्यका नगर विकास समितिको नाममा यहाँका विभिन्न ५४ ठाउँमा ७ सय ९५ रोपनी जग्गा छन् । ती सबैको मूल्य १२ अर्ब ४६ करोड भन्दा बढी पर्छ । २२ ठाउँको जग्गा भाडामा लगाइएको छ ।

२०३२ सालमा अञ्चलाधीश शंकरराज पाठकले पोखरा गुरुयोजना तयार गर्दा यी जग्गाहरू अधिग्रहण गरेका थिए । उनले पोखराका जमिनलाई विभिन्न क्षेत्रमा विभाजन गरे । कार्यालय क्षेत्र, संस्थान क्षेत्र, सरकारी आवासीय क्षेत्र, संवैधानिक क्षेत्र लगायत विभिन्न भागमा विभाजन गरेर सोही अनुसार संरचना निर्माण अघि बढाएका थिए । अहिले सबै जग्गाहरू फरक प्रयोजनमा प्रयोग भएको छ । यहाँका अधिकांश जग्गाहरू सुकुम्वासीले पनि ओगटेका छन् । सामाजिक संघ संस्थाहरू सहारा क्लब, हिमाली सांस्कृतिक परिवार लगायतले पनि जग्गा लिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *