अर्थमन्त्रीकाे प्रशंसा गर्दै प्रचण्डले भने- डिजाइनलाई त्यागद्वारा जवाफ दिइयाे

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र] का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री जनार्दन शर्माले पद त्याग्दा राम्राे सन्देश गएकाे बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा सदस्यहरूले उठाएका प्रश्नहरूकाे जवाफ दिनेक्रममा उनले यस्ताे बताएका हुन् । ‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । संसद्मा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसद्मा नैतिकता प्रदर्शन गर्नुभएको छ,’ उनले भने, ‘नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन हुन्थ्याे । हामीले त्याे डिजाइनलाई त्यागद्वारा जवाफ दिएका छाैँ ।’
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार मन्त्री पदबाट राजीनामा दिएका छन् । उनीमाथि छानबिन गर्नका लागि ११ सदस्यीय छानबिन समिति बनेकाे छ ।








