राजीनामा दिँदै अर्थमन्त्रीले के-के भने ? (भिडिओसहित)

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा शर्माले आफूमाथि निष्पक्ष रूपमा छानबिन गर्नका लागि पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
सो क्रममा उनले आफूले देश र जनतालाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको दाबी गरे । मुलुकको आर्थिक विकासका लागि काम गर्नु आफ्नो अपराध नभएको उनको भनाई छ । शर्माले बजेट बनाउँदा आफूले कुनै अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश नगराएको जिकिर गरे । उनले सिसिटिभीको प्राविधिक पक्षबारे जानकारी नभएको भन्दै यसबारे जनतामा भ्रम पैदा गर्न खोजेको गुनासो गरे ।
शर्माले आफू मुलुकको ठूला ठूला आन्दोलनमा सहभागी भएको र आफ्नो प्रतिबद्धताबाट नझुकेको भन्दै बजेट निर्माणका क्रममा पनि आफ्नो नैतिकतालाई डगमगिन नदिएको बताए । उनले एउटा मात्रै नभई हजारौँ छानबिनका लागि तयार रहेको तर्क गरे ।
त्यसअघि प्रतिनिधिसभा बैठकले अर्थमन्त्री शर्माका विषयमा अध्ययन गर्न संसदीय छानबिन विशेष समिति गठन गरेको थियो । ११ सदस्यीय विशेष समितिलाई बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको सभामुख अग्नि सापकोटाले जानकारी दिए ।
समितिमा खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहनुभएको सभामुख सापकोटाले जानकारी दिए ।
शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज अर्थ मन्त्रालयका कर्मचारीको मिलेमतोमा डिलिट गराइएको आरोप लागेको छ ।








