नागरिकता विधेयक पास गर्छाैं : राजेन्द्र महतो

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको बैठक आगामी बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संसद्को आगामी बैठकमा यसअघि पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने जानकारी गृहमन्त्रीले दिएको बताए ।
संसद् भवनमा पत्रकारसँग कुरा गर्दै उनले लामो समयदेखि नागरिकता विधेयकलाई अल्झाई राखेकाले नयाँ विधेयक ल्याउनु सकारात्मक भएको बताए । दलहरूबिच नागरिकताका विषयमा भएको सहमतिलाई समावेश गर्दै नयाँ विधेयक ल्याउने जानकारी पनि गृहमन्त्रीले गराएको उनको भनाई छ ।
उनले जन्मसिद्धका सन्तानलाई नागरिकता प्रदान गर्ने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानुन ल्याएर पास गर्ने भन्ने सहमति भएको बताए ।
यसअघि प्रतिनिधि सभामा करिब चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निर्णय गरेको थियो ।








