कैलालीको विकट पालिका मोहन्याल : जहाँ वडासचिव नै छैनन्

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाको वडा नम्बर १ को स्वास्थ्य शाखामा कार्यरत लोकेन्द्र धामी अहेव हुन् । स्वास्थ्य क्षेत्रका कर्मचारी धामीको भूमिका अहिले त्यति मात्रै छैन । उनले त्यहाँ वडा सचिवको जिम्मेवारी पनि सम्हालीरहेका छन् ।

गाउँपालिकामा आएको ३३ महिनादेखि उनले दोहोरो भूमिका निर्वाह गरिरहेका छन् । उनले अहिले बाध्यताले सचिवको काम पनि सिकेका छन् । ‘म स्वास्थ्य क्षेत्रको कर्मचारी हुँ’, उनी भन्छन्, ‘यहाँ वडामा सचिव नहुँदा त्यो काम पनि मैले गरिरहेको छु । बाध्यताले नयाँ काम पनि सिकियो भन्नुपर्यो ।’

जिम्मेवारी भन्दा बाहिरको काम गर्दा सुरुमा केही अप्ठेरो भएको सुनाउँदै उनले भने, ‘अहिले काम त गरिन्छ तर आफ्नो प्रमुख जिम्मेवारी स्वास्थ्य क्षेत्रलाई बढी ध्यान दिनुपर्छ । यसले दुबैतिर बाधा भने भैरहेको छ ।’ उनले गाउँपालिकामा कर्मचारी अभावकै कारण भएका कर्मचारीले सबै जिम्मेवारीमा रहेर काम गर्नुपर्ने बाध्यता रहेको बताए ।

वडा नम्बर २ मा पनि सचिवको जिम्मेवारी हेरिरहेका स्वास्थ्य शाखाका अहेव प्रभु बरालले दोहोरो भूमिका आफ्नो लागि टाउको दुखाई भएको बताए । उनले पनि साढे दुई वर्षदेखि सचिवको काम पनि सम्हाली रहेका छन् । ‘अहिले असार मसान्तमा त झन भाइनभ्याइ भएको छ’, उनले भने, ‘यही बेला स्वास्थ्य क्षेत्रमा पनि बढी ध्यान दिनुपर्छ ।’ उनले कर्मचारी अभावमा सचिवको जिम्मेवारी पनि बाध्यताले आफूले लिनुपरेको बताए । यद्यपि उनले आफ्नो स्वास्थ्य क्षेत्रलाई नै बढी ध्यान दिने गरेको बताए ।

गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमल साउँदले कर्मचारी अभावले काम गर्न निकै गाह्रो भैरहेको बताए । ‘मोहन्याल जिल्लाको सबैभन्दा विकट र पहाडी पालिका भएकाले कर्मचारी पनि आउन मानिरहेका छैनन्’, उनले भने, ‘वडामा सचिवको काममा स्वास्थ्य शाखाका कर्मचारीलाई खटाउनुपर्ने बाध्यता छ ।’ उनका अनुसार ७ वटा वडा रहेको गाउँपालिकामा वडा नम्बर ३ मा मात्रै वडा सचिव छन् । बाँकी ६ वटा वडामा सचिवको काम स्वास्थ्य शाखाका कर्मचारीले गरिरहेका छन् ।

यसरी स्वास्थ्य शाखाका कर्मचारीले सचिवको काम गर्दा स्वास्थ्यतर्फ असर पुगिरहेको कार्यबाहक अध्यक्ष साउँदको भनाइ छ । ‘हामीले स्वास्थ्यका कर्मचारीलाई सचिवको काममा लगाए पनि उनीहरू आफ्नो क्षेत्रको काममा बाहिर जाँदा नजाउ पनि भन्न सकिन्न’, उनले भने, ‘किनकि उनीहरूको प्रमुख काम त्यही क्षेत्र हो र त्यहीँबाट स्तरोन्नति हुनेछन् ।’ असार मसान्तमा अहिले काम गर्न झन समस्या भइरहेको उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना नगरेसम्म कर्मचारी अभावको समस्या समाधान हुन गाह्रो हुने बताए । ‘मोहन्यालमा कर्मचारी अभावमा थुप्रै काम गर्न नसकिएको अवस्था हो’, उनले भने, ‘संघीय र प्रदेश लोकसेवा आयोगले कर्मचारी पूर्ति गर्नुपर्छ । विकट क्षेत्र भएकाले पनि केही कर्मचारी मोहन्याल आउन चाहँदैनन् ।’ कर्मचारी अभावमा काम गर्न नसक्दा जनतामाझ राम्रो सन्देश जान नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *