‘श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान’

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा सोमबार नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेशले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा युनियनको भूमिका विषयक विचार गोष्ठी’मा उनले गिरिजाबाबु श्रमिकनेता भएकाे बताए ।संस्थालाई मजबुद बनाउन सकेमात्र कर्मचारीको हकहितमा उभिन सहज हुने उनकाे भनाइ थियाे ।
आजको प्रतिस्पर्धात्मक बजारमा युनियनको भूमिका ज्यादै रहेको उनको भनाइ छ । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले नेपाल टेलिकमभित्र आबद्ध कर्मचारीको हक–अधिकार रक्षाका लागि नेपाल टेलिकम वकर्स युनियनले सराहनीय काम गर्दै आएको बताए । उनले व्यवस्थापन र कर्मचारीबीचको सेतुको भूमिका युनियनले खेलेको उल्लेख गरे ।
नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेश समितिका अध्यक्ष अच्युत ओझा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँका पूर्वअध्यक्ष गणेश भट्टराईलगायतले नेपाल टेलिकमभित्रको समस्या समाधानका लागि व्यवस्थापन र कर्मचारी युनियन सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।








