पदभार ग्रहण गर्दै भाैतिक पूर्वाधारमन्त्री राईले भने- ‘मेकानिजम’बिना इम्बाेस्ड नम्बर प्लेट लाद्न खाेजियाे

काठमाडाैँ । नवनियुक्त भाैतिक पूर्वाधारमन्त्री माेहम्मद ईस्तियाक राईले ‘मेकानिजम’ नबनाइकन इम्बाेस्ड नम्बर प्लेटकाे व्यवस्था लाद्न खाेजिएकाे बताएका छन् । साेमबार मन्त्रालयमा पदभार ग्रहण गर्नै उनले भने, ‘इम्बाेस्ड नम्बर प्लेटमा मेराे ध्यानाकर्षण भएकाे छ, मलाई लागेकाे छ कि यसमा राम्राे मेकानिजम नबनाइकन यसकाे व्यवस्था ल्याउन खाेजियाे । अब म आइसकेँ, यसबारे राम्राेसँग अध्ययन गरेर मात्रै अघि बढ्नुपर्छ ।
त्यसका लागि आफूले कार्यदल/समिति नै बनाएर काम गर्ने उनले बताएका छन् । उक्त समितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउनेगरी काम गर्ने मन्त्री राईले बताउका छन् ।
यस्तै इ-ड्राइभिङ लाइसेन्सबारे पनि अध्ययन गर्ने उनले बताएका छन् । त्यसकाे आवश्यक्ता किन ? भन्नेबारे समितिले अध्ययन गर्ने उनकाे भनाइ छ ।
पदभार ग्रहण गर्दै यी नै २ वटा निर्णय गरेकाे मन्त्री राईले बताए । ‘भाैतिक पूर्वाधारकाे पक्षमा त हामीले काम गर्नै नै छाैँ,’ उनले भनेका छन्, ‘मेकानिजम तयार नभइकन काम गर्ने हाेइन कि अब राम्राेसँग मेकानिजम बनाएर मात्रै काम गर्नुपर्छ ।’
यस्तै उनले पत्रकारहरूले पनि सुझाव दिनुपर्ने बताए । ‘मन्त्रीहरू त ६/६ महिनामा आउँछन् जान्छन्,’ उनले भनेका छन्, ‘पत्रकारहरूले त धेरै वर्षदेखि यही क्षेत्रमा लेख्दै आउनुभएकाे छ । अब तपाईंहरूले बताउनुस् कि यहाँनेर सुधार गर्नुस् भनेर । त्यसकाे अपेक्षा गरेकाे छु । अनाैपचारिकरूपमा पनि तपाईंहरूले भन्दा हुन्छ ।’








