फलफूल होइन, विष बेच्छ बजार : अनुगमन नै गर्दैन सरकार !

काठमाडाैँ । नेपाली बजार हिजाेआज साह्रै सहज बन्दै आएकाे छ । खासगरी सङ्घीय राजधानी काठमाडाैँ यसकाे पर्याय हाे । यहाँ किनेर उपभाेग गर्नलाई जे चिज पनि जुनै समयमा पनि उपलब्ध हुन्छ, मात्रै उपभाेक्तासँग क्रयक्षमता हुनुपर्छ अर्थात् पैसा हुनुपर्छ । काठमाडाैँ बजार हाे, जहाँ बेयामका वस्तुहरू पनि खान तथा उपभाेग गर्न पाइन्छ ।

फलफूल, तरकारीसँगै अन्य वस्तुहरू यस ‘क्याटागाेरी’मा पर्छन् ।

तर उपभाेक्ताहरूले कुन फलफूल तथा तरकारी कुन समय खाँदा कस्ताे हुन्छ र त्यसकाे उत्पादनबारे साेच्दैनन् । उनीहरू मात्रै राम्राे खाेज्छन् । तर, ती फलफूलहरू कति सुरक्षित छन् ? भन्नेबारे जानेर मात्रै उपभाेग गर्न विज्ञहरू सुझाव दिन्छन् । हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रकाशित गरेकाे सूचनाअनुसार यसप्रकारका तरकारी तथा फलफूल पकाउन अप्राकृतिकरूपमा शरीरलाई असर पार्ने रसायनकाे प्रयोग गर्ने गरिएको तथ्य फेला परेको छ ।

अल्पकालीन र दीर्घकालीनरूपमा स्वास्थ्यमा ठूलो असर पुग्ने यस्ता रसायन प्रयोग गरेर पकाएको फलफूल बजारमा जतासुकै पाइन्छन् । घातक विष राखिएका फलफूल बजारमा पुगिरहँदा पनि सरकार भने मूकदर्शक बनिरहेकाे छ ।

बेलाबेला उपभोक्ताले नै यस्तो फलफूलको सेवनबाट समस्या भोगेपछि मात्रै यी विषयहरू केही समयका लागि उठान हुने र पछि सेलाउँदै जाने गरेकाे देखिन्छ । पछिल्लो समय बजारमा वैशाखको अन्तिम र जेठदेखि नै पर्याप्त मात्रामा उपलब्ध भएको मौसमी फल आँपमा रसायन प्रयोग गरेर पकाइएको पाएपछि पुनः यो विषयमा चर्चा शुरू भएकाे छ । तर सरकार र बजार हेर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सूचना निकालेर काम गरेजस्तो देखाइरहेको छ । विभागले यस्ताे कुरामा अनुगमन त गर्दैन नै, सूचना समेत क्रेता-बिक्रेता कसैकाे पहुँचमा छैन ।

सधैँ यस विषयमा बहस नभए पनि १२ महिना नै यस्ता विष भएको फलफूल प्रयोग गर्न उपभोक्ता बाध्य रहेको बताउँछन् केएमसी अस्पतालका वरिष्ठ फिजिसियन डा. सुवास पन्त । उनी भन्छन्, ‘काँचो टिप्न मिल्ने फलफूलमा रसायनको प्रयोग गरेर कृत्रिमरूपमा पकाउन सकिन्छ । नेपालमा केरा, अम्बा, आँप र मेवालाई त्यसरी रसायन प्रयोग गरेर पकाउने गरेको पाइएको छ । त्यसमा पनि आँप र केरा बढी नै उपभोग हुने फलफूल हो । आँप मौसममा मात्र पाइए पनि केरा भने १२ महिना नै बजारमा पाइन्छ । यसको अर्थ, हो हामी सधैँ फलफूलको रूपमा विष खरिद गरेर खान्छौँ ।’

डा. सुवास थप्छन्— ‘फलफूललाई काँचै टिपेर, गुम्स्याएर, तातोमा राखेर पकाउँदा एथिलिन ग्याँस उत्पन्न हुन्छ । यसले प्राकृतिकरूपमा नै फलफूल पकाउँछ र कुनै असर गर्दैन । तर कृत्रिमरूपमा फलफूल पकाउन क्याल्सियम कार्वाइड को प्रयोग गरिन्छ । यो स्वास्थ्यको लागि अति हानिकारक रसायन हो ।’

खाद्य नियमावली २०२७ को दफा १९ को ‘घ’ ले क्याल्सियम कार्वाइडको प्रयोगमा प्रतिबन्ध लगाएको छ । यसको प्रयोग नै गैरकानुनी छ । तर कानुन किताबमै सीमित छ, व्यवहारमा लागू नै छैन ।

कृत्रिमरूपमा पकाएको फलफूलका अल्पकालीन र दीर्घकालीन असरहरू कस्ता छन् ?

डा. सुवासकाे जवाफ यस्ताे छ:
कृत्रिम विधिबाट पाकेको फलफूलका धेरै असरहरू छन् । फलफूल खानेबित्तिकै मुख चिलाउने, मुखभित्र घाउ तथा खटिरा आउने, घाटी दुख्ने, पेट दुख्ने, बान्ता हुने, रिँगटा लाग्ने जस्ता समस्या देखा पर्छन् । तर क्याल्सियम कार्वाइडको दीर्घकालीन असर झन् खतरा छ । यसले फोक्सो, मुटु र मिर्गौलामा असर गर्छ ।

श्वास नली र घाँटीमा पनि असर गर्छ । यो रसायन प्रयोगबाट पकाएको फलफूलले अक्सिजनको मात्रा कम गराउने भएकोले आँखा धमिलो हुने समस्या पनि गराउँछ । गर्भवती महिलाको लागि यो रसायन झन् घातक छ । लगातार यो रसायन प्रयोग गरिएको फलफूल खाएमा गर्भको बच्चा नै खेर जान सक्छ । स्तन क्यान्सर र बालबालिकामा पनि क्यान्सरको जोखिम उच्च हुन्छ ।

काँचै टिप्न मिल्ने फलफूल यदि चम्किलो, बास्ना नआउने, अलि अप्राकृतिक रङको छ भने त्यसमा कृत्रिम रसायन प्रयोग गरिएको छ भन्ने बुझ्नुपर्छ । प्राकृतिकरूपमा पाकेको फलफूल किराले खाएको, बास्नादार हुन्छ र अस्वाभाविक हिसाबले टल्कने र चम्कने हुँदैन । त्यसैले सकेसम्म फलफूल किन्दा छान्नुपर्छ । घरमा लगेर भेट्नु काटेर पानीमा केही समय डुबाउँदा विष केही हदसम्म कम हुन्छ ।

तर पूर्णरूपमा खान योग्य र स्वास्थ्यवर्द्धक भने हुँदैन । सम्भव भएसम्म विष रसायन प्रयोग गरेर पकाएको फलफूल खानु नै हुँदैन । बरु फलफूल नै नखाँदा ठिक हुन्छ । पैसा हालेर किन विष किनेर खाने ? अनुगमन हुनुपर्ने हो । राज्य उपभोक्ता माथि ज्यादती गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *