‘प्रधानमन्त्रीको ध्यान गठबन्धन जोगाउनेमा केन्द्रित, मुलुक बेथितितर्फ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको ध्यान गठबन्धन जोगाउनेमा मात्र केन्द्रित रहेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले मुलुक बेथितिको बाटोतर्फ अघि बढ्दा समेत प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन मात्रै केन्द्रित भएको आरोप लगाएका हुन् ।
उनले गठबन्धन जोगाउनै लागि सरकारले राज्यका विभिन्न अंगमा हमला बढेको र स्वेच्छाचारिता बढेको तर्क गरे । यस्तो अवस्थामा संसद् निरीह भएर बस्न नमिल्ने उनको भनाई छ ।
ओलीले देश र जनताको हितको रक्षा गर्न सदनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जिकिर गरे । उनले बजेट निर्माणका क्रममा बिचौलियाको हस्तक्षेप भएको भन्दै यसको संसदीय छानबिन हुनुपर्ने माग गरे ।
उक्त प्रकरणबारे सरकारले छानबिन गराउन सक्नुपर्ने र यसमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए । ओलीले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज नै नरहेको भन्ने सार्वजनिक गरिरहेको र अर्थमन्त्रीले एमालेले भन्दैमा फुटेज देखाइन्न भन्नु गैर जिम्मेवार जवाफ भएको तर्क गरे ।
उनले राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा सरकारले गरेको टिप्पणी गरे । अध्यक्ष ओलीले मुलुकको परराष्ट्र सम्बन्धलगायतका सवालमा सरकारका कार्य उचित नभएको दाबी गरे ।
उनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कहिले के भएको हो ? सो विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले एसपीपीसम्बन्धी पत्राचारमा तत्कालीन प्रधानमन्त्री तथा रक्षा मन्त्री आफू रहेको र त्यसबारे आफूलाई अवगत नगराइएको धारणा राखे ।
ओलीले एसपीपी सम्झौतामा आफूलाई अनावश्यक रूपमा मुछ्न खोजिएको भन्दै आपत्ति जनाए ।








