सांसदहरूले भने- मलको चरम अभाव हुँदा समेत सरकारकाे ध्यान गएन

काठमाडौँ । सांसदहरूले रासायनिक मलको चरम अभाव हुँदा पनि सरकारको ध्यान जान नसकेको भन्दै आपत्ति जनाएका छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा उनीहरूले किसानले भोग्दै आएको मल खादको समस्या समाधानका गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले किसानका लागि अभाव भएको मलको व्यवस्थापन गर्नुपर्ने बताए ।
समयमा नै मल नपाएको किसानहरू चिन्तित हुँदा सरकार मौन बसेको उनको भनाई छ ।
उनले यसअघि भारतसँग गरिएको जिटुजी सम्झौतामार्फत पनि मल ल्याउन सरकार असफल भएको जिकिर गरे ।
त्यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले जतिसक्दो चाँडो मल व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराए ।
रासायनिक मल बाहेक अन्य कुनै मलले नेपालको कृषि उत्पादन बढ्न नसक्ने भन्दै उनले आगामी हप्तासम्म किसानलाई पर्याप्त मल दिने प्रत्याभूति सरकारले गराउनुपर्ने बताए ।
बैठकमा अन्य सांसदहरूले वर्षा र बाढीका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै बैठकले “कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते बिहीबार ११ बजे बोलाइएको छ ।








