संसद्मा ओलीको गम्भीर टिप्पणी- १० वर्षे सशस्त्र युद्धको सपना नक्कली र झुटो थियाे

काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
सोमबार प्रतिनिधिसभामा बोल्दै एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुङ्ग्याउन सरकारले गर्ने पहलमा एमालेको सहयोग रहने बताए । आफूले प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाको बाँकी काम सकाउने प्रयास गर्दा खोज्दा एमालेले जस लिने भयो भनेर रोकिएको उनको दाबी छ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘खै सङ्क्रमणकालीन न्याय ? हिजो हामीले केही गर्न खोज्दा एमालेले जस लिन्छ भनेर केही गर्न नदिने ? अहिले आफैँ सरकारमा हुनुहुन्छ । आफै जस लिनुस् न, जस लिने गरी काम गर्नु प्रतिपक्षी सहयोग गर्न तयार छ ।’
अध्यक्ष ओलीले तत्कालीन नेकपा माओवादीले २०५२ साल देखि १० वर्षसम्म गरेको सशस्त्र युद्ध नक्कली सपना र झुट भएको गम्भीर टिप्पणी पनि गरे । नक्कली सपना देखाएर नेतृत्वले सशस्त्र युद्ध गरेको भए पनि युद्धमा होमिनेहरूको गल्ती नरहेको उल्लेख गर्दै उनले उनीहरूको समस्या समाधानका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।
‘सपना नक्कली थियो, झुट थियो । तैपनि त्यसमा सामेल भएका, मृत्यु भएका, घाइते, बेपत्ताका परिवारले पाइरहेका दुःख हेर्न पर्छ कि पर्दैन ?’ ओलीको प्रश्न छ, ‘ आफूलाई त्यस ठाउँमा ल्याइपुर्याउने लडाकुहरूका समस्या बिर्सने ? अहिले पनि पीडित छन् । शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्दैन ?’








