जसपामा उपेन्द्र पुन: बलियो

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सिफारिस गरेको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाइएको हो ।
अध्यक्ष उपेन्द्र यादव पक्षले संसदीय दल र कार्यकारिणी समितिमा आफ्नो बहुमत रहेको बताउँदै यो निर्णय गरेकाे छ । विभाजनको संघारमा रहेको जसपामा उपेन्द्रकै पक्षमा रहने ग्रीन सिग्लन दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।
तीन जनालाई फिर्ता बोलाएपछि बाबुराम भट्टराईको पक्षबाट अलग भएका इस्तियाक राई सँगै प्रदीप यादव र मृगेन्द्र सिंहलाई नयाँ मन्त्रीको रुपमा सिफारिस गरिएको छ । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषिमन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गरिएको बुझिएको छ । कृषिमन्त्रीका लागि सिफारिस भएका सिंह राष्ट्रिय सभा सदस्य हुन् ।
जसपामा उपेन्द्र पुन: बलियो
पार्टीको आन्तरिक कलहमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेसँगै उपेन्द्र यादव पार्टीमा पुनः बलिया हुन पुगेका छन् । विगतमा भट्टराईलाई साथै दिँदै आएकामध्ये भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई र वन मन्त्रीमा प्रदीप यादवलाई सिफारिस गरेसँगै यादव आन्तरिक राजनीतिमा बलियो हुन पुगेका हुन् ।








