विलाप गर्दै प्रहरीकहाँ पुग्ने पीडित अदालतमा किन फेर्छन् बयान ?

काठमाडौँ । नारायणी नदीमा गत चैत ४ गते नुहाउन गएकी एक बालिकालाई ५८ वर्षका एक पुरुषले बलात्कार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी पर्‍यो ।

चैत ६ गते बालिका सहित उनकी आमा प्रहरी कार्यालय पुगिन् । प्रहरीलाई पौडी खेल्ने क्रममा नाङ्गै नुहाउन नारायणीको तीरमा पुगेकी बालिकालाई देखि भरतपुर ४ का ५८ वर्षीय नारायण खनालले आफू पनि कट्टु मात्रै लगाएर नारायणी नदी गएको र बालिकालाई बलात्कार गरेको विवरणको जाहेरी दिइन् ।

जाहेरी लगत्तै प्रहरीले आरोपित खनाललाई नियन्त्रणमा लियो । प्रहरीले संरक्षकको कागज गरायो । सोही दिन अस्पतालमा ७ वर्षीय बालिकाको स्वास्थ्य परीक्षण पनि भयो । बालिकाले पनि आफूलाई कसरी बलात्कार गरे भन्ने विवरण प्रहरीलाई सविस्तार लगाएकी छिन् ।

जाहेरी प्राप्त गरेपछि घटना मुचुल्का, साक्षी प्रमाणसहित प्रहरीले जिल्ला न्यायाधिवक्ता मार्फत अदालतमा बलात्कारको मुद्दामा अभियोग लगाई जिल्ला अदालत पेस गर्‍यो । अदालतको फैसला नआउन्जेल खनाल पुर्पक्षको लागि थुनामा गए ।

अदालतमा मुद्दा प्रक्रिया अघि बढ्यो । सुनुवाइका क्रममा बालिका र उनकी आमालाई अदालतले बकपत्रको लागि झिकाए । अदालतमा भने पीडित बालिका र उनकी आमाले प्रहरीलाई भनेको भन्दा ठ्याक्कै उल्टो विवरण दिए ।

बालिकाले अदालतको बकपत्रमा भनिन्, पानीमा म डुबेको देखि मलाई निकाल्न जानुभएको थियो । मलाई त्यो बुबाले केही गरेको छैन । मैले प्रहरी अङ्कलको अगाडि पनि त्यस्तो केही गरेको छैन भनेको थिएँ ।

उनकी ३७ वर्षीय आमाले पनि आफूले प्रहरीमा बलात्कार भएको भन्ने कुरै नगरेको र आफू पढ्न नजान्ने भएकोले प्रहरीले के लेखे थाहा नभएको । हस्ताक्षर गर भने अनुसार हस्ताक्षर मात्रै गरेको विवरण दिइन् ।

घटना विवरण, प्रहरी अनुसन्धान र बालिका बलात्कार जस्तो संवेदनशील घटनामा आमाले नै बयान फरक दिएपछि जिल्ला अदालत चितवनले बुधवार सो घटनाको आमालाई नै कैद सजाय तोकेर फैसला गरिदिएको छ ।

जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले घटनाको दाबी प्रमाण नपुग्ने र पीडितले बालिकामाथि बलात्कार जस्तो विषयमा झुट्टा विवरण दिएको भन्दै पीडित बालिकाकी आमालाई नै १५ दिनको कारागार सजाय फैसला गरेका हुन् ।

चितवनमा बलात्कारको घटनामा पीडितले नै बयान फेरेर आरोपीले सफाइ पाउने क्रम बढ्दै गएको छ । तर, यसअघि आरोपितले सफाइ मात्रै पाउने गरेपनि यो पटक भने पीडित भनिएका पक्षलाई नै अदालतले झुटो विवरण दिएर प्रहरी र न्यायालयलाई पङ्गु बनाउन खोजेको भनी कैद सजाय तोकेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनको तथ्यांक अनुसार चितवनमा भएका मध्ये बहुविवाह पछि सबैभन्दा बढी असफल हुने मुद्दा बलात्कारको हो । चालु आर्थिक वर्षको जेठ महिनासम्म जिल्ला अदालत चितवनमा चलिरहेको ९८ वटा बलात्कारका मुद्दामध्ये २६ वटा मुद्दामा आरोपीले सफाइ पाएका छन् ।

चितवनका जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार धेरैजसो बलात्कारका मुद्दामा पीडितले बयान फेरेका कारण मुद्दा कमजोर हुने गरेको छ । केही मुद्दामा प्रहरीले पनि बलियो अनुसन्धान गरेको देखिँदैन ।

तिनै मध्येको एउटा मुद्दा हो, गैँडाकोटको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले सोही कलेज पढ्ने छात्रालाई बलात्कार गरेको भनिएको घटना ।

वैशाखको १९ गते चितवन प्रहरीमा उक्त कलेजमा पढ्ने १८ वर्ष मुनीको छात्रा आमासहित विलाप गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनले आफूलाई काफ्लेले प्रयोगात्मक परीक्षामा फेल गराइदिने दबाब दिँदै चितवनका विभिन्न होटेलमा लगेर जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिइन् ।

प्रहरीले उनको भनाइलाई भिडियो समेत बनायो । तर, पीडितकी संरक्षक आमा स्वयं भोलिपल्टै जाहेरी फिर्ता लिइदिनुस् भन्दै प्रहरी कार्यालय पुगे । पीडितकी आमाले संरक्षकको कागज गर्न पनि प्रहरीमा गइनन् । प्रहरीले पनि संरक्षकको उपस्थिति बिनाकै मिसिल जिल्ला न्यायाधिवक्ताको कार्यालय पठाइदियो ।

वैशाख १९ गते परेको जाहेरी अदालत पेस भएको एक महिना पुग नपुगमै फैसला भयो । जसमा पीडित भनिएकी बालिकाले आफूलाई कुनै किसिमको दुर्व्यवहार नगरेको बकपत्र गरिन् । त्यसैलाई आधार मानेर दाबी प्रमाण नपुग्ने भन्दै अदालतले शिव काफ्लेलाई सफाइ दिएको छ ।

सामान्यतया बालबालिकाले आफूमाथि भएको घटना ढाँट्दैन भन्ने मान्यता छ । तर, चितवनमा पछिल्ला बलात्कारका मुद्दामा संरक्षक मात्रै होइन १० वर्षमुनिका बालिकाले पनि प्रहरी र अदालतमा फरक बयान दिएका छन् ।

भरतपुर महानगरपालिका २९ नम्बर वडामा कार्यरत सब इन्जिनियर जीवन पौडेलले ६ वर्षीय बालिकालाई बलात्कार गरेको भनी प्रहरीमा गरेको उजुरीमा बालिका र उनकी आमाले नै प्रहरी र अदालतमा फरक फरक बयान दिए ।

इन्जिनियरकै घरमा डेरा गरी बस्ने बालिका र उनकी आमाले खेलाउने क्रममा पौडेलले बालिकालाई फकाएर उनको योनीमा औँला घुसाइ बलात्कार गरेको जाहेरी दिएका थिए ।

प्रहरीले तत्कालै जाहेरी लिएर पीडित बालिका र उनकी आमा दुबैजनालाई चितवनकै सुरक्षित आवास गृहमा पठाएको थियो । उक्त आवास गृहकी सञ्चालक मञ्जु खाँणले पटक पटक बालिका र उनकी आमालाई भेट्नको लागि आरोपी पक्षका व्यक्तिहरूले दबाब दिएको पनि सार्वजनिक रूपमा भनेका थिए ।

तिनै बालिका र आमाले अदालतको बकपत्रका क्रममा बालिकामाथि कुनै किसिमको बलात्कारजन्य क्रियाकलाप नै नभएको दाबी गरे । सोही भनाइलाई आधार मानेर जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा रहेका जीवन पौडेललाई यही असार १६ गते बिहीबार सफाइ दिएको छ ।

चितवनमा हिंसा प्रभावित बालबालिका पुनर्स्थापना गृह सञ्चालक मञ्जु खाँण भन्छन्, ‘अदालतमा बकपत्र ढिलो हुँदा पीडितलाई पैसाको प्रलोभनमा पारेर बयान फेर्ने अवस्था आएको हो ।’

यो सायद न्याय र कानुनका सम्बन्धमा गरिनु पर्ने एउटा गम्भीर अनुसन्धानको विषय हो । मञ्जु खाँण भने बलात्कार पीडितले न्यायिक प्रक्रियामा पाउने हैरानीलाई यो समस्याको मूल कारण मान्छन् । पीडितले आफ्नो जीवन सुरक्षित गर्नको लागि न्याय भन्दा आर्थिक सुरक्षा प्रमुख ठान्दा धेरै बलात्कारका घटनाका पीडित अदालत पुग्दासम्म मानसिकता नै परिवर्तन गर्ने स्थितिमा आइपुग्ने खाँणले बताए । स्राेतः INS

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *