अरुलाई जाेड्ने भन्दै आफैँ फुट्ने !

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान साता दिन नपुग्दै ‘प्याट्ट’ फुटेकाे छ । अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट संयाेजक ताेकिएका वामदेव गाैतमलाई निष्कासन गरी युवराज सफललाई संयोजक बनाइएकाे छ ।

अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै उनीहरूले गौतममाथि विभिन्न पाँच बुँदे आरोपसमेत लगाएका छन् । गौतममाथि सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाई त्यसको चरम् दुरुपयोग गरेको भन्दै उनीहरूले वामदेवलाई पार्टीबाट निष्कासित गरेका छन् ।

वामदेवकाे पार्टीमा विभिन्न चार घटकहरू मिसिएका थिए । वामदेवले केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका नेताहरूलाई भेटेर वाम एकताको प्रस्ताव राखेलगत्तै एकलौटी गरेको भन्दै चार घटकले निष्कासन गरेका हुन् ।

‘समानान्तर कमिटी बनाउन खाेजियाे, हामी आधिकारिक हाैँ’

अभियानका प्रवक्ता नीमकान्त पाण्डे सफलकाे नेतृत्वमा बनेकाे समूह अवैधानिक र चाेर बाटाेबाट बनेकाे बताउँछन् । ‘समानान्तर कमिटी बनाउन खाेजिएकाे छ । अनैतिक गर्न खाेजिएकाे छ । याे हामीले बाेकेकाे कर्यभारमा पर्दैन,’ उनले भनेका छन्, ‘नभएकाे काम भयाे । अराजक भयाे । याे हामीले भनेकाे कार्यमभारविपरीत छ ।’

वामदेवले पार्टीकाे मुख्य कार्यभार वामपन्थी दलहरूलाई जाेड्ने भनेपनि पार्टी भने फुटेकाे छ । प्रवक्ता पाण्डे थप्छन्— ‘हामीले अरुलाई जाेड्ने भनिरहँदा साथीहरू फुट्नुभयाे । यसलाई समीक्षा निर्ममरूपले हुने नै छ । हामीले गर्ने नै छाैँ ।’

आधिकारिक पार्टी आफूहरू रहेकाे दाबी गर्दै उनले भने, ‘मनाेमानी ढङ्गले बनाइएकाे समूहलाई वैधानिक मान्न थालिनु  हुँदाे काम हाेइन, हामी आधिकारिक हाैँ । उहाँहरूले गर्न खाेज्नुभएकाे के हाे हेर्दै जाउँला । तर वैधानिक कुन समूह हाे भन्ने प्रश्न नै उठ्ने भएन । किनकी हरेकरूपमा हामी आधिकारिक हाैँ ।’

‘ठूलाे कुरा हाेइन, पार्टीभित्र अराजकता देखियाे’

प्रवक्ता पाण्डे समानान्तर समिति खडा गरिनुलाई ठूलाेरूपमा हेर्दैनन् । ‘युवराज सफलजीहरूकाे राम्राे गर्नुभएन,’ उनले मकालुखबरसँग भनेका छन्, ‘उहाँहरूले शुरूदेखि नै अराजक खालकाे माग र दाबी गर्दै आउनुभएकाे थियाे । अन्तत: पार्टी फाेड्नुभयाे । तर, यसलाई ठूलाेरूपमा लिएका छैनाैँ । याे उहाँहरूले देखाउनुभएकाे घूसपैठ शैली मात्रै हाे । उहाँहरू त्यसैगरी नै पार्टीमा आउनुभएकाे देखियाे ।’

उनले सफलकाे नेतृत्वमा बनेकाे समूह अवैधानिक रहेकाे दाबीसमेत गरेका छन् । ‘अवैधानिकरूपमा पार्टी फुटाउने षड्यन्त्र रह्याे र फुटाइयाे । युवराजजीले चाहेजत्तिकै साथीहरूलाई केन्द्रीय समितिमा पनि राखिएकै हाे र पनि उहाँहरूले चित्त बुझाउनुभएन,’ उनले भनेका छन् ।

अरुलाई जाेड्न खाेज्नेहरूकाे फुट

वामदेवले पार्टी घाेषणा गरेकाे दिन भनेका थिए— हामी नेपालका सम्पूर्ण वामपन्थीहरूलाई जाेडेर देश विकासकाे निम्ति लगाउन चाहन्छाैँ । याे देशकाे भविष्य वामपन्थीहरूबाहेक कसैले गर्न सक्दैन ।

उसाे त अन्य वामपन्थी दलहरूलाई एकठाउँमा उभ्याउन बनेकाे वामदेवकाे पार्टी आफैँ फुटेकाे छ । तपाईंहरूले अरुलाई जाेड्ने भन्नुभएकाे थियाे, तर आफैँ किन फुट्नुभयाे ? भन्ने प्रश्नमा प्रवक्ता पाण्डे भन्छन्, ‘याे रमिताजस्तै भयाे, साथीहरूले देखाउनुभयाे । याे पटक्कै राम्राे भएन । हामीले जे चाहेका थियाैँ, त्यसविपरीत भयाे । हामी फुटेका हाेइनाैँ, उहाँहरू फुट्नुभयाे । यसमा के भनाैँ खै ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =