माओवादी केन्द्रको केन्द्रीय समिति आज, को बन्ला महासचिव ?

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय चुनावको समीक्षाका साथै केन्द्रीय समितिको पूर्णताबारे छलफल हुनेछ ।
महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी यन हुन सकेका छैनन् ।
आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेका छन् । गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । केन्द्रीय सदस्यको सङ्ख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ ।
साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ । पार्टीको महासचिव को बन्ने भन्ने विषय पेचिलो भएका छ । अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुनबीच कसलाई रोज्ने भन्नेमा अध्यक्ष प्रचण्ड द्विविधामा पर्दा माओवादी केन्द्रले अध्यक्षबाहेकका पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो गठन गर्न सकेको छैन ।








