स्वतन्त्र उम्मेदवारहरूको छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी

काठमाडौँ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका स्थानीय तह निर्वाचनमा सहभागी स्वतन्त्र उम्मेदवारहरूले छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् ।
आज शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी स्वतन्त्र उम्मेदवारहरूले छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल शुरू गरेका हुन् । यसअघि स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाका स्वतन्त्रतर्फ मेयरका उम्मेदवार बनेका सुमन सायमीले दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर अगाडि बढ्ने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको बताएका छन् ।
संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरूबीच छलफल शुरू गरिएको सायमीको भनाइ छ । उनले दल ठिक छैन भन्ने भ्रम जनतामा परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन आफूहरूको दलले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।








