प्रदेश १ खेलकुद विकास बोर्डले खेलाडीलाई सम्मान गर्ने

विराटनगर । प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले ओलम्पिक, एसियन र साफ गेममा सहभागी खेलाडीलाई सम्मान गर्ने भएको छ ।

बोर्डले यही असार १९ गते विराटनगरमा भव्य कार्यक्रमको आयोजना गर्दै साफ, एसियन र ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई सम्मान गर्ने कार्यक्रम रहेको शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रदेश १ बाट हालसम्म अन्तर्राष्ट्रिय स्तरको खेल स्पर्धामा सहभागी खेलाडीको बृहत् भेलाको आयोजना गर्ने र खेलाडीको सम्मानमा र्‍यालीसमेत गरिने बोर्डका सदस्यसचिव हंसराज वाग्लेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रदेशबाट हालसम्म ओलम्पिक खेलमा ९ जना, एसियन खेलमा ३६ जना र साफमा १५० जनाको हाराहारीमा खेलाडी सहभागी भएको राष्ट्रिय खेलकुद परिषद्को तथ्याङ्कले देखाएको सदस्यसचिव वाग्लेको भनाइ छ ।

खेलाडीहरूलाई विशेष सम्मानका लागि मुख्यमन्त्री राजेन्द्रकुमार राई लगायतका मन्त्रीहरूको टोलीसहित नेपाल प्रहरीको ब्यान्डसमेत बाजागाजासहित उपस्थित हुने जनाइएको छ । बोर्डले सोही कार्यक्रमको अवसर पारेर विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको काठमाडौँ मेडिकल कलेजसँग अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका खेलाडीहरूलाई निःशुल्क उपचार गर्ने सम्झौतासमेत गर्ने बताएको छ ।

साफ, एसियन र ओलम्पिकमध्ये कुने खेलमा सहभागी खेलाडीलाई औषधिबाहेक निःशुल्क उपचार दिने र खेलाडीका परिवारलाई पचास प्रतिशत छुटमा उपचार दिनेगरी सम्झौता पत्रमा सोही दिन हस्ताक्षर गरिने सदस्यसचिव हंसराज वाग्लेले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

१९ गते विराटनगरको एयरपोर्ट रोडस्थित पर्पल हेज रेष्ट्रो एन्ड गार्डेनमा हुने खेलाडी सम्मान कार्यक्रममा उद्योगी व्यापारीसहित राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी, पदाधिकारी र ओलम्पिक कमिटीका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहने बोर्डकी उपाध्यक्ष जिना कार्कीले बताइन् ।

प्रदेश खेलकुद बोर्डमा नयाँ पदाधिकारी नियुक्ति भएर आएपछि प्रदेशभरिका खेल प्रशिक्षकहरूका लागि तालिम सञ्चालन गर्नुका साथै प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता, इटहरीमा प्रदेश १ को जिल्लास्तरीय फुटबल प्रतियोगिता, महिलाहरूलाई आत्मरक्षाका लागि सेल्फ डिफेन्स तालिम लगायतका महत्त्वपूर्ण कार्यक्रम गरिसकेको र प्रदेशको खेल क्षेत्रलाई चलायमान बनाउँदै गएको बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *