काठमाडौँमै बसेर हेरौँ दोलखा !

काठमाडौँ । दोलखा जिल्लाको विविधता झल्काउने खालका तस्बिरहरूको मेला ‘फोटो मेला–२०७९’ काठमाडौँको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा सुरु भएको छ । प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, जनजीवन, पुराना तथा नयाँ बस्ती, त्यहाँबाट देखिने हिमाल र ताल समेटिएका १०० तस्बिर राखिएका छन् ।

“प्रदर्शनीमा राखिएका फोटाहरूले दोलखाको समग्र पक्षहरू धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूलाई समेटेको छ,” तस्बिर अवलोकन पछि बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले भने, “पर्यटकीय क्षेत्रका खिचिएका तस्बिरले दोलखाको समग्र विकासमा थप सहयोग पुग्नेछ ।” “दोलखा धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले निकै सुन्दर र उत्कृष्ट गन्तव्य हो ।” उनले थपे, “आफूले बजेट निर्माणका क्रममा दोलखाको धेरै स्थान घुमेको र बागमती प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पनि लागिपरेको छु ।”

दोलखाको विकासका लागि बाग्मती प्रदेशले अध्ययन गरेर नै बजेट विनियोजन गरेको छ भन्दै मन्त्री श्रेष्ठले “जिरीमा मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि रु १५ करोड, भीमसेन मन्दिर परिसरमा रहेको मुद्रा सङ्ग्रहालय निर्माणका लागि रु एक करोड ६२ लाख, सैलुङमा पर्यटकीय पूर्वाधार निर्माण आदिमा पनि बजेट छुट्टाइएको छ ।”

दोलखा मिडियाद्वारा आयोजना गरिएको तीन दिने फोटो प्रदर्शनीको मुख्य उद्देश्य नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरणबाट पर्यटक भित्र्याउनु रहेको छ । “फोटो प्रदर्शनीले दोलखालाई देशभर चिनाउनाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउन सहयोग पुग्छ भन्ने मलाई लाग्छ,” तस्बिर अवलोकन गर्दै पर्यटन बोर्डका कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले भने ।

दोलखा चलचित्र नगरीको विकासको अगुवाइ गरिरहनुभएका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दोलखा प्राकृतिक र सांस्कृतिक सुन्दरताले भरिपूर्ण जिल्ला भएको बताए । उनले भने, “प्रदर्शनीमा राखिएका तस्बिरले दोलखाको हरेक पक्षको बयान गरेको छ, त्यहाँको विकासका लागि सबै राजनीतिक दलहरूले समानरुपमा ध्यान दिनुपर्छ ।” आफूले त्यहाँको पर्यटन विकासका लागि सहयोग पुर्‍याउने उद्देश्यले २०२६ सालमा ‘एक शीला तीन अवतार’ भन्ने शीर्षकमा भीमसेन मन्दिरको बारेका लेखेको र २०२७ सालमा आँखा पत्रिकामार्फत साहित्यिक पत्रिकाले पनि दोलखाको साहित्य, कला, पर्यटन विकासका लागि कलम चलाएको सुनाए ।

आयोजक मिडियाका अध्यक्ष राजेन्द्र मानन्धरले मेलामा दोलखाको विविधता झल्काउने खालका तस्बिरहरू भएको र त्यहाँको विकास र जनजीवनको भित्री पाटोलाई चित्रमार्फत उठान गरिएको जानकारी दिए । मेला स्वदेशी र विदेशी पाहुनाहरूले पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

के देख्न पाइन्छ तस्बिरमा ?

आजदेखि प्रारम्भ भएको असार १९ गतेसम्म चल्ने फोटो प्रदर्शनीमा त्यहाँको पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक मनोरम प्राकृतिक दृश्य देख्न पाइन्छ । जातजातिका अनेकन् संस्कार, संस्कृति, भाषा, वेशभूषा पनि देख्न पाइनाका साथै पहिलाको दोलखाको बस्ती र अहिलेको दोलखाको ताजा बस्तीका बारेमा पनि अवलोकन गर्न सकिन्छ ।

प्रदर्शनीमा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, फोटो पत्रकारहरू फ्रिज बर्गर (ग्रिस फोटो पत्रकार), केशव थोकर, ज्ञानेन्द्र कार्की, लक्ष्मीप्रसाद ङाखुसी, रेखा शाक्य, जीवन लामा, केदार सिवाकोटी, निकेश श्रेष्ठ, प्रह्लाद आचार्य, सुशील श्रेष्ठ, मन्जिमलाल कायस्थ, निमेष कायस्थ, किरण श्रेष्ठ, हिमाल थामी, सविन बुढाथोकी, सकिला कार्की र चिलोचन प्रधानले खिचेका १०० तस्बिरहरू राखिएका छन् ।

मिडियाका अध्यक्ष मानन्धरका अनुसार दोलखालाई पर्यटकीय दृष्टिकोणले निकै उत्कृष्ट गन्तव्य मानिएको र प्रदर्शनीबाट त्यहाँको बारेमा विश्वव्यापीरुपमा प्रचार गरी पर्यटक वृद्धि गर्ने प्रमुख उद्देश्य रहेको छ ।

नेपालको राजधानी काठमाडौँबाट दोलखा १३३ किमी दूरीमा रहेको छ । उक्त मिडियाले दोलखाको विकासका लागि प्रदर्शनी, प्रकाशन, प्रसारण, वृत्तचित्र निर्माण, अनुसन्धान, विज्ञापन र मिडिया क्षेत्रको विकासमा हातेमाले गर्दै आएको छ । सोही क्रममा अहिले राजधानीमा फोटो मेला आयोजना गरिएको हो ।

प्रदर्शनीमा दोलखा विकास मञ्चका अध्यक्ष तथा इन्जिनियर महेन्द्रबहादुर कार्की, समाजसेवी शोभित उप्रेती, कलाकार, अधिवक्ता तथा पत्रकारहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =