पोखराले भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गर्‍याे, गाउँले भेला भएर विरोध गरे

पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहिलो शर्त छ, हालको पोखराको ल्याण्डफिल साइट स्थानान्तरण गर्नुपर्ने । हाल पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइटलाई ३३ नम्बर वडाको भरतपोखरीमा सार्ने निर्णय महानगरले गरेको छ । विमानस्थल आयोजनाले ४ वर्षअघि नै स्थानान्तरण गर्न पत्र पठाएपनि अघिल्लो जनप्रतिनिधिको अन्तिम कार्यपालिका बैठकले ल्याण्डफिल साइट सार्ने निर्णय गरेको हो । यसअघि पोखरा २० भलाममा सार्ने निर्णय भएकोमा स्थानीयले विरोध गरेपछि महानगर निर्णयबाट पछि हटेको थियो ।

अहिले निर्णय भएको ठाउँका स्थानीयले पनि विरोध जनाएका छन् । शुक्रबार गाउँले भेला भएर कुनै हालतमा भरतपोखरीमा ल्याण्डफिल सार्न नदिने निर्णय गरेका छन् । ‘भरतपोखरीमा कुनै पनि हालत र शर्तमा फोहर डम्पिङ साइड बनाउन नहुने निष्कर्ष निकालियो,’ अगुवा राजनीतिकर्मी किरण थापाले भने, ‘महानगरले स्थानीयसँग सल्लाह नै नगरी एक्लौटी निर्णय गर्‍याे । हाम्रो असहमति छ ।’

ल्याण्डफिल सार्न नदिने दवावका लागि शनिवार सर्वपक्षीय र सर्वदलीय भेला आयोजना गरिएको छ भने आइतबार महानगरमा डेलिगेसन जाने निर्णय शुक्रबारको भेलाले गरेको छ । महानगरले अटेर गरे संघर्ष समिति बनाएर योजनाबद्धरूपमा विरोधका कार्यक्रम सञ्चालन गर्ने थापाले बताए । मेयर धनराज आचार्यले पनि पहिलो बैठकबाटै भरतपोखरीमा ल्याण्डफिल सार्ने र आवश्यक पूर्वाधारका लागि बजेट छुट्याउने निर्णय गरेका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ टिमुरपाटामा जग्गा प्राप्त गरी सेनेटरी ल्याण्डफिल साइट निर्माण गर्ने महानगरको निर्णय छ । आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममै उक्त परियोजना समावेश गरिएको छ । महानगरले फोहोरलाइ श्रोतमै वर्गीकरण गरि व्यवस्थापनका लागि महिला स्वयम्‌सेवक परिचालन गर्ने बताएको छ ।

विस्तृत अध्ययनदेखि जग्गा प्राप्ती र आवश्यक पूर्वाधार निर्माणका लागि महानगरले आगामी वर्ष खर्च हुने गरी १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =