बाढीले बिथोल्दा कठिन बन्दैछ विहारमा मनसुनी विवाह

झरी लागेपछि उखरमाउलो गर्मी कम भएको थियो । प्रजनन र उत्साहको मौसम भनिने समय सुरु हुँदाविहारमा छुट्टै रौनकआएको थियो । असिफ वहाब र नसरिन प्रविन पनि वर्षा (मनसुन)मा परेको आफ्नो विवाह नजिकिँदै गर्दा उत्साहित भइरहेका थिए । आफूहरू दम्पतीका रुपमा एक हुने दिन गनेर प्रतीक्षा गरिरहेका थिए । तर, विवाहकै दिन विवाहको वरियातले ढाकिनुपर्ने असिफको घरलाई उर्लिँदो बुढीगण्डक नदीले घेर्याे।

यस्तो समस्या आइपरेपछि विवाहको कार्यक्रम नै सर्ने भयो भन्ने चिन्ताले बेहुलीलाई छटपटी सुरु भयो । एकातर्फ बिहेको तयारीमा गरिएको ठूलो खर्च खेर जाने अर्कोतर्फ अशुभको अपजस पनि लाग्नसक्ने चिन्ताले उनको मन पोल्यो । तर उर्लिएको नदीले कुनै दयामायाकाे संकेत देखाएन । ‘म त तनावले बेहोस नै हुनलागेकी थिएँ,’ नसरिनले भनिन् ।.

उनले मेहन्दी लगाएको हातले बिहेको निमन्त्रणा कार्ड उठाइन् जसमा ‘६ अगस्त २०२० मा असिफ र नसरिनको शुभ विवाह’” लेखिएको थियो । मैले असिफलाई फोन गरेँ र उनले मसँग गरेको प्रतिबद्धता सम्झाएँ,’ नसरिनले भनिन् । “त्यो दिन मेरो जीवनकै सबैभन्दा खुसीको दिन हुने अपेक्षा थियो तर त्यही दिन सबैभन्दा डरलाग्दो बन्नपुग्यो,’ विहार मुजफ्फरपुरको रघुनाथपुर गाउँमा मेकानिकल इन्जिनियर रहेका असिफले भने ।

उर्लिरहेका नदी, युवा र जोखिमपूर्ण विवाह
उत्तरी भारतको विहार राज्यको झण्डै ६० प्रतिशत जनसंख्या २५ वर्षमुनिको छ । त्यसैले यो भारतको सबैभन्दा बढी युवा भएको राज्य हो । यो भारतको सबैभन्दा बाढीग्रस्त राज्य पनि हो । वर्षाको बेलामा हरेक वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म उत्तर विहारको झण्डै ८० प्रतिशत जनसंख्या बाढी प्रभावित हुनेगर्छ ।

त्यसैले विहारलाई नदीहरू र युवा दुवै प्रचुरमात्रामा भएको राज्यको रुपमा लिइन्छ तर नदीको शक्तिले सो राज्यका युवाको सपना खोसिरहेको छ । नेपालको हिमालय क्षेत्रबाट बगेर भई कोशी, गण्डक, बुढी गण्डक र वागमतीजस्ता प्रमुख नदीहरूविहार प्रवेश गर्छन् । त्यहाँ पुगेर ती नदीले ठूलो नोक्सानी पुर्याउने गर्छन् । यो समस्याका कारण विहारका युवा ठूलो संख्यामा अन्य राज्यतर्फ बसाइँ सर्छन् ।

भारतको सबैभन्दा बाढीग्रस्त राज्य विहारमा बाढीले बिहे बिथोल्न थालेपछि रद्द गर्नुभन्दा बेहुलाहरू डुंगा वा ट्याक्टरमा चढेर भए पनि वरियातमा जान बाध्य भएका छन् । यस्तो नयाँ अभ्यासबाट केही जोखिम तथा सांस्कृतिक क्षति पनि भएकाे छ

यसै वर्ष प्रकाशित एउटा अध्ययनले पहिलो पटक उत्तरी विहारको एउटा गाउँ तहमा बाढीले पार्ने अर्थ–सामाजिक प्रभावको हिसाब निकालेको थियो । सो क्षेत्रका ४८ प्रतिशत (करिब ११ ३००) गाउँहरूमा सन् २००१ देखि २०२० मा हरेक वर्ष वा एक वर्ष बिराएर डुबान हुने गरेको सो अध्ययनले देखाएको छ । ३५ प्रतिशत (करिब ८३००) गाउँहरू उच्च तथा अतिउच्च अर्थ–सामाजिक जोखिममा रहेको अध्ययनको ठहर छ ।

समथर क्षेत्रमा नदीहरू मडारिँदै आउने उत्तरी विहारको भूगोल नै बाढीग्रस्त छ । लेदो, तटबन्ध तथा बाँधहरूको कमजोर व्यवस्थापनका कारण बाढी झन् विनाशकारी बन्दैगइरहेकाे केन्द्रीय विश्वविद्यालय झारखण्डको डिपार्टमेन्ट अफ जिओइन्फर्मेटिक्सका सहायक प्राध्यापक विकासरन्जन परिदाको ठहर छ । उनी सो अध्ययनका मुख्य अध्येता पनि हुन् ।

बसाइँसराइको नयाँ प्रवृत्तीमा मनुसुनी बाढीले विवाहलगायत साँस्कृतिक प्रचलनमा ठूलो विचलन ल्याइरहेको छ । भारतमा बिहे गर्ने तीन सिजनमध्ये एउटा मनसुन हो ।

बिहेको मामिलाः पूरै गाउँको सरोकार
पितृसत्तात्मक विहारको यस क्षेत्रमा परिवारमा अप्रत्याशितरुपमा आइपर्ने मृत्यु वा त्यस्तै अन्य टार्नै नसक्ने आपत्तिका बेलाबाहेक बिहेको कार्यक्रम स्थगित गर्नुलाई अशुभ र निरीहताको रुपमा लिइन्छ । पूरै गाउँकै प्रतिष्ठा गिरेको ठानिन्छ । त्यसैले गर्दा रघुनाथपुरका पूरै गाउँलेहरूले असिफका आफन्त र छिमेकीसँग मिलेर ६ किलोमिटर टाढा पहरपुर गाउँमा रहेको बेहुलीको घर पुग्ने उपायबारे छलफल गरे ।

‘आखिर बाढी त वर्षैपिच्छे आउँछ तर बिहे त जीवनभरका लागि हो,’ भन्ने भनाइ उत्तरी विहारको जनजिब्रोमा झुण्डिएको हुन्छ । यही भनाइलाई आत्मसात् गर्दै असिफका आफन्तहरूलाई ट्याक्टर नै उपलब्धमध्यको उत्तम उपाय हो भन्ने लाग्यो । ट्याक्टरका ठूला ठूला चक्काले बाढीलाई पनि छिचोल्न सक्छन् र यसको पछाडि ३०–४० जना जन्ती अट्ने हुँदा यो सही विकल्प हुने ठहरमा उनीहरू पुगे ।

‘तर मेरो प्रतिष्ठा के होला ?’ असिफले त्यो घटना सम्झिए, ‘घाँसपात, बाली र फोहोर ओसार्ने ट्याक्टरमा चढेर बेहुलीको घरमा जानु त मेरो प्रतिष्ठालाई नसुहाउने कुरा भयो ।’ उनका भाइभतिजले उनलाई साथ दिए । परम्परागतरुपमा बेहुला घोडा चढ्ने गर्थे । आजकल अधिकांश कारमा चढेर जान्छन् । तर एउटा आधुनिक युवक ट्याक्टरमा चढेर बिहे गर्न जानु त साह्रै नसुहाउँदो भयो भन्ने उनीहरूलाई लाग्यो ।

एकजना पाहुनाले नयाँ प्रस्ताव ल्याए । उनले बेहुला र उनका आफन्त डुंगामा जाने आइडिया निकाले । असिफलाई यो प्रस्ताव मन पर्यो । यो व्यवस्थाप्रति पनि सबै खुशी हुने अवस्था थिएन। असिफको परिवारले २०० भन्दा बढीलाई निम्तो दिएका थिए तर त्यति धेरैलाई पुग्ने डुंगास‌ंभव थिएनपनि । १ सय ६० जना त छुटे । भव्य बिहे भोज र झमझम नाँच्ने अवसर गुमेकोमा उनीहरू निराश भए ।

“म रिसले आगो भएकोमा लज्जित पनि भएँ तर एउटा विशिष्ट परिस्थिति थियो । मेरा सबैभन्दा नजिकका मानिसहरू डुंगामा थिए । उनीहरूमध्ये धेरैलाई पौडी खेल्न आउँदैनथ्यो । ठूलो पानीको वहाव आयो भने डुंगा उल्टिन्थ्यो । त्यसैले म डराइरहेकाे थिएँ ,”असिफले सम्झिए ।

विवाह यसरी प्रभावित भएको असिफ र नसरिनको मात्र होइन, कैयौंका बिथोलिएका छन् । असिफका अनुसार त्यही हप्ता उनकै गाउँ रघुनाथपुर र छिमेकी गाउँमा चारवटा बिहे थिए । त्यहाँ पनि बेहुला, बेहुली र पाहुनाहरूले बाढीमा संघर्ष गरेरै विवाह सम्पन्न गर्नुपरेको थियो ।

बाढी झन् झन् विनाशक बन्दै गएपछि त्यहाँका समुदायहरूले पनि वर्षाकै बीचमा बिहेको परम्परा जोगाइराख्न जोखिमपूर्ण उपाय अपनाउन थालेका छन् । सन् २०२० र २०२१ मा, विवाहको वाचा पूरा गर्नका लागि उत्तर विहारका बेहुलाहरूले बाढीसँग झेल्नुपरेका थुप्रै संघर्षका कथा छन् । गत वर्ष जुलाईमा एकजना बेहुलाको परिवारले त बेहुलीको घरसम्म पुग्न एउटा अस्थायी पुल नै बनाएको थियो । यसरी कति मानिस प्रभावित भएका होलान् भनी यकिन तथ्यांक निकाल्न त सम्भव छैन किनभने धनाढ्य तथा पहुँचवाला परिवारले समाधानका अन्य वैकल्पिक उपाय पनि लगाएका हुनसक्छन् तर गरिब समुदायका लागि भने जीवनमा एकपटक गर्नुपर्ने यो महत्त्वपूर्ण कार्यक्रमलाई प्राकृतिक विपद्ले बिथोल्दा ठूलो संकट आइपर्छ ।

मेरा सबैभन्दा नजिकका मानिसहरू डुंगामा थिए । उनीहरूमध्ये धेरैलाई पौडी खेल्न आउँदैनथ्यो । ठूलो पानीको वहाव आयो भने डुंगा उल्टिन्थ्यो । यो सम्झेर आत्तिइरहेको थिएँ

मुजफ्फरपुरका अभियन्ता जितेन्द्र यादवका अनुसार पहिले पहिले त्यहाँ आउने बाढी धेरै ठूलो हुँदैनथ्यो र त्यसले बरु जमिनको उब्जाउलाई राम्रै गर्थ्यो। तर अहिले निकै विनाशकारी बाढी आउन थाल्यो । उनले सन् २००८ को भयानक बाढीको स्मरण गरे । त्यसवर्ष नेपालको कुशाहामा कोशीले तटबन्ध भत्काएपछि कोशी जलाधार क्षेत्रमा ठूलो डुबान भएको थियो ।

उनी भन्छन्, ‘त्यस वर्ष त यहाँ मान्छेहरूकाे अन्त्येष्टि भएको मात्र देखिन्थ्यो ।’ ‘नदीले तटबन्ध भत्काउने घटनाहरू बढ्दै जाने र बाढी निकै विनाशकारी बनिरहेका कारण मनसुन बिहेहरू पनि अत्यन्तै जोखिमपूर्ण बनिरहेका छन्,’ यादवले भने ।

विहारमा विध्वंस मच्चाउँदै बाढी
असिफको गाउँमा सन् १९५४ मा तटबन्ध बनाएदेखि नै बुढी गण्डकले निरन्तर भत्काइरहने गरेको छ । ‘हरेक तीन–चार वर्षमा तटबन्ध चर्किरहेकै हुन्छ, तर विगत केही वर्षदेखि भने बाढी आउँदा पानीकाे तह निकै बढेको छ । सन् २०२० मा त अति नै ठूलो बाढी आयो.’ असिफ भन्छन् ।

सन् १९७० देखि २०२० सम्म सरकारले २ अर्ब हेक्टर जमिन जोगाउनका लागि ३७०० किलोमिटर तटबन्ध बनायाे । तर यी संरचनाबाट डुबान कम भएको छैन । उत्तर विहारमा बाढीग्रस्त क्षेत्र घटनुको साटो झन् बढेको छ । सन् १९५२ मा २.५ कराेड हेक्टर क्षेत्र डुबान हुने गरेकोमा सन् २०११ मा डुबानग्रस्त क्षेत्रफल ५ कराेड हेक्टर पुग्यो ।

सो अध्ययनका मुख्य अध्येता परिदा भन्छन्, ‘जलवायु परिवर्तनका कारण अब झन् तीव्र वर्षा हुने र त्यसले अझै ठूला विपद् निम्त्याउन सक्ने भएकोले यस क्षेत्रको भविष्य थप अनिश्चित देखिन्छ ।’

असिफ र उनका पाहुना डुंगाबाट बेहुलीको घरदेखि झण्डै साढे २ किलोमिटर टाढा रहेको राष्ट्रिय राजमार्ग पुग्दा केही मानिस उनीहरूलाई स्वागत गर्न आए । तर उनीहरु बेहुलीका परिवार थिएनन् । उनीहरू त बाढीको विध्वंसबाट बच्नका लागि त्यो राजमार्गमा जम्मा भएका बाढीपीडित थिए । ‘हाम्रो समुदायले परम्पराका लागि साहस बटुलेर त्यत्रो जोखिम मोलेर त्यहाँ पुगेकोमा ती बाढीपीडितहरू हामीलाई भेटेर सम्मान प्रकट गर्न उत्सुक थिए,’ असिफले भने ।

बाढीका कारण पटक–पटक सबैकुरा गुमाउँदा पनि त्यस क्षेत्रका बासिन्दाहरू आफ्ना वाचा पूरा गर्न हरसम्भव प्रयास गर्ने गरेको असिफको ठम्याइ छ ।

विज्ञानमाथि राजनीति हावी
बाढीकै कारणभन्दा पनि बाढीको गलत व्यवस्थापनका कारण धेरै क्षति भएको नदीसम्बन्धी त्यस क्षेत्रका अगुवा विज्ञ दिनेश मिश्रको ठहर छ । ‘बाढी त यहाँ शताब्दीयौँदेखि आइरहेको छ । यसको सबैभन्दा सरल समाधान भनेको नदीलाई स्वतन्त्ररुपमा आफ्नो बाटोमा बग्न दिने र पानीले ल्याएको अधिक लेदोलाई कृषिभूमिमा फैलाउन दिने हो, उनी भन्छन् । ‘गलत कुरालाई प्रोत्साहित गर्दा असफल नीतिले निरन्तरता पाउँछन् भने स्थानीयका कुरा सुनिँदैन,’ मिश्रले भने ।

‘सरकारमा रहेकाले माथिदेखि तल लाद्ने शैली चाहन्छन् किनभने तटबन्ध र बाँधहरू बनाउनका लागि करोडौँ डलर बजेट आउँछ,’ उनले भने । अब राजनीतिकर्मीहरूले त्यस क्षेत्रमा बाढी बढ्नुमा जलवायु परिवर्तनको कारण देखाएर झन् बढी तटबन्ध गर्नुपर्ने तर्क गर्ने उनको अनुमान छ ।

पटक-पटक हुने यस्ता विपदका कारण ठूलो क्षति हुने गरेको छ । यसबाट विहारको अर्थतन्त्रमा पनि ठूलो नोक्सानी पु-याएको छ जसले गर्दा ७६ प्रतिशत जनसंख्या कृषिमा संलग्न रहेको विहार भने भारतको प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन सबैभन्दा कम भएको राज्यमा पर्छ र यो राज्य छाड्ने बसाइँसराइ उच्च छ । संस्कृति र परम्परामाथि यसको असर बढ्दो छ । आफ्नै अनुभवका आधारमा असिफ र नसरिनले बिहे गर्ने योजनामा रहेका युवालाई एक वाक्यमा सुझाव दिन्छन्ः ‘मनसुनका महिनामा विवाह गर्ने गल्ति नगर्नू ।’ ‘हामीले हल्दी कार्यक्रमजस्ता थुप्रै महत्त्वपूर्ण कुराहरू गर्नै पाएनौँ,’नसरिनले भनिन् ।

परम्पराअनुसार खुला आँगनमा गर्नुपर्ने हल्दी कार्यक्रम उनीहरूको बिहेमा निरन्तर आइरहेको ठूलो वर्षातका कारण सम्भव नै भएन । उनीहरूका लागि अझ नरमाइलो त तब भयो जब त्यो बिहेमा आउने तयारी गरेका उनका आधाभन्दा बढी साथीहरू बाढीकै कारण विवाहस्थलमा पुग्नै सकेनन् । –थर्ड पोलबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.