कर्णालीका कृषि मन्त्री शाहीको टोली रोपाइँमा (तस्वीरसहित)

सुर्खेत । कर्णाली प्रदेशमा पनि १९ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीको टोलीसहितले रोपाइँ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा मानिकापुर कृषक सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा कृषि मन्त्री शाहीसहितको टोलीले रोपाइँ गरेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालयको सहयोग गरिएको कार्यक्रममा कृषकहरू भने निराश देखिन्थे ।

धान दिवस पारेर गरिएको उक्त कार्यक्रममा मन्त्रीसहित कर्मचारीहरू रोपाइँमा रमाइरहँदा आसपासका कृषकहरूमा कुनै रौनकता थिएन । धान उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापनका लागि मल बिउ अभाव र सिँचाइ असुविधाजस्ता कृषिमा देखिएका समस्याहरू समाधान गर्नमा सरकारले ध्यान नपुर्‍याएको कृषक डिलबहादुर बिसीको गुनासो गरे ।

‘हिजो मात्रै धान रोपेर सके, मल हाल्न पाएको भए धान खेती राम्रो हुन्थ्यो,’ बिसी भने, ‘मल पाउने टुंगो छैन, मन्त्रीहरूलाई हिलोमा एक घण्टा रमाउन ठिक्कै छ । हुने खानेलाई चिन्ता छैन मर्ने भनेकै हामी कृषक त हो नि ।’ उनले एक घण्टा कृषकको साथमा रमाउनुभन्दा कृषकहरूका वास्तविक पीडाहरू सम्बोधन गर्न सरकार गम्भीर बनेको भए दिवसले सार्थकता पाउने तर्क गरे ।

मानो रोपी मुरी उब्जाउने सिजनमा मलको सहज उपलब्धता नहुनु सरकारको लापरबाही भएको कृषक बताउँछन् । कृषकको जीवनस्तर उकास्ने योजना सरकारले बजेटमा समावेश गरेपनि समस्या ज्यूकात्यू छन् । तर, रासायनिक मल उपलब्ध गराउने दायित्व केन्द्र सरकारको भएकाले प्रदेश सरकारले केही गर्न नसक्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहले बताए । ‘मलका लागि केन्द्र सरकारसँग पहल गरिरहेका छौँ, यो कर्णालीको मात्रै समस्या हैन नि,’ मन्त्री शाही भन्छन्, ‘मल मात्रै नभएर कृषकका अन्य थुप्रै समस्या रहेकाले ती समाधान गर्नमा हामी गम्भीर छौँ ।’

कर्णालीका कृषकलाई मल वितरण गर्ने जिम्मा पाएको कृषि सामग्री केन्द्रले ७० र साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ३० प्रतिशत पाएको हो । तर, यो वर्ष कर्णालीमा हालसम्म रासायनिक मल युरिया आएको छैन । प्रदेशभर झण्डै ४० प्रतिशत धान रोपाई सकिदा कृषकले मल नपाएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *