देशभर धान दिवस मनाइँदै, कृषिमन्त्रीले राेपे मेसिनबाट धान

काठमाडौँ । देशभर आज असार १५ अर्थात् धान दिवस मनाइँदै छ ।

हरेक वर्ष आजकै दिन खेतमा काम गरी दहीचिउरा खाएर धान दिवस मनाउने चलन छ । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

यस वर्ष ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइएको हो । नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

यसै अवसरमा सरकारले राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटार फार्म परिसरमा १९ औँ धान दिवस तथा रोपाई महोत्सव आयोजना गरेको थियो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले मेशिनबाट रोपाई गरेका थिए ।

मन्त्री यादवले नेपालमा धान उत्पादनका लागि सधैँ युरिया मल अभाव देखिएको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि हुँदा नेपालमा मल आपूर्तिको समस्या देखिएको धारणा राखे । कृषि कारखाना स्थापना, मलको स्वचालित मूल्य वा जिटुजी नै सहज मल आपूर्तिको माध्यम भएको उनको भनाई छ ।

नेपालको कूल ग्राहस्थ उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । त्यस्तै, भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान्न आयातमा अर्बौँ रकम बाहिरिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यस्तै सोही अवधिमा रु १५ अर्बभन्दा बढीको धान आयात भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *