आज र भोलि यी क्षेत्रमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोको उच्च जोखिम रहने जनाएको छ । महाशाखाले नारायणी नदीलगायत विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बुधबार र बिहीबार देशभरका नदीहरूमा पानीको बहाव उच्च हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायत नारायणी र यसका सहायक नदीहरू सेती, कालिगण्डकी, मादीमा पानीको बहाव उच्च हुने उल्लेख छ । नदी छेउछाउका बासिन्दालाई बढी सतर्कता अपनाउन महाशाखाको सुझाव रहेको छ ।

महाशाखाले मधेस प्रदेशलगायत तराईका जिल्लाका साना तथा ठूला नदीहरुमा पानीको बहाव बढ्ने जनाएको छ । साना नदी र डुबान भइरहने होचा स्थानमा बढीको उच्च जोखिम रहेको भन्दै तराईको साना नदीतटीय क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यमा जुट्न सरोकारवाला निकायलाई महाशाखाले आग्रह गरेको छ । हिजो रातिदेखि लगातार परिरहेको वर्षाका कारण देशभरका विभिन्न ठाउँमा सडक अवरुद्ध पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 7 =