वाम एकताको ढोका खुला राख्ने एकीकृत समाजवादीको निष्कर्ष

काठमाडाैँ । एमालेबाट नौ महिनाअगाडि अलग भई बनेको एकीकृत समाजवादीले वाम शक्तिहरूसँग एकताको ढोका खुला गरेको छ । करिब १५ सय नेता सहभागी केन्द्रीय परिषद्को प्रथम बैठकले वाम एकताका लागि वार्ताको ढोका खुला राख्ने निष्कर्ष निकालेको हो । यद्यपि, पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता भएको बैठकको ठहर छ ।

सम्मानित नेता झलनाथ खनालले पाँचदलीय गठबन्धन तोड्नुपर्ने आवश्यकता नरहे पनि वाम एकताको वार्ता खुला राख्ने निर्णय भएको बताए । ‘आमकार्यकर्ताको भावना र मुलुकको आवश्यकता वाम एकता हो । सबैसँग वार्ताको ढोका खुला गर्ने, कहाँ, कोसँग वार्ता गर्दा एकता सम्भव हुन्छ, त्यही गर्ने हो’, उनले भने, ‘यद्यपि, पाँचदलीय गठबन्धन तोडिहाल्ने आवश्यकताचाहिँ छैन ।’

समूहगत छलफलमा उठेका प्रश्नको जवाफमा अध्यक्ष माधव नेपालले पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता भएको, सम्मानजनक गठबन्धन गर्ने गरी पहल हुने र अन्य विकल्पमा समेत पार्टी खुला रहने बताएका थिए । ‘पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता हो । तर, सबै पक्षसँग छलफल गर्न तयार छौँ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

बैठकले कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानको रक्षाका लागि एकताबद्ध हुन आह्वान गरेको छ । ‘माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा सही विचार र राजनीतिक कार्यदिशा अँगालेको, तर विभिन्न पार्टी र समूहमा विभक्त भई क्रियाशील रहेका कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई कम्युनिस्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकताबद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न यो बैठक सबै क्रान्तिकारीहरूमा हार्दिक अपिल गर्दछ,’ पारित १५ बुँदे समसामयिक प्रस्ताव छ ।

एकताका लागि कुनै दलविशेषको नाम समाजवादीले लिएको छैन । ‘एमालेलाई आवाह्न गर्नुपर्ने कुरै छैन । हामी नै वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्छौं भन्ने हो । राजनीतिक संवाद नै नहुनेसँग के कुरा भयो र ? उससँग (एमाले) एकता वा गठबन्धनको कुरा अगाडि बढाउनका लागि पहिला उसले गल्ती स्विकार्नुपर्छ । त्यसपछि छलफल हुन सक्छ,’ एमालेसँग एकताको विषयबारेको जिज्ञासामा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।

बैठकले प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सर्वभौमिकतामा प्रहार हुन सक्ने स्थितिप्रति सजग रहँदै वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका दलसहित सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन पनि आह्वान गरेको छ ।

अध्यक्ष नेपालले आसन्न संघीय एवं प्रदेश निर्वाचनका लागि तयारीका साथ अगाडि बढ्न नेता–कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । ‘अब हाम्रो सम्पूर्ण ध्यान चुनावमा केन्द्रित हुन्छ । आगामी चुनावबाट नै हाम्रो भविष्य निर्धारण हुनेछ । सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्नुपर्छ । वडास्तरसम्मै संगठनलाई सशक्त बनाउनुपर्छ । पार्टी र सबै जनसंगठन संगठन निर्माण र विस्तारमा लाग्नुपर्छ,’ नेपालले भने ।

बैठकले राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ । ११ समूहका नेताहरू विद्या ढकाल, नरेशकुमार भण्डारी, सूर्यचन्द्र न्यौपाने, विजय गुरुङ, प्रतावलाल श्रेष्ठ, सुधीर साह, कृष्णप्रसाद सापकोटा, अर्जुन राई, मोहनबहादुर केसी, हर्कबहादुर सिंह र अम्मरबहादुर थापाले समूह छलफलका निष्कर्ष बैठकमा पेस गरेका थिए । उनीहरूले गठबन्धन सम्मानजनक हुनुपर्ने, पार्टीलाई विधि र पद्धतिमा हिँडाउनुपर्ने, सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासनमा राख्नुपर्ने सुझाव दिएका थिए ।

पार्टीले मन्त्री फिर्ता बोलाउने निर्णय गरे पनि तत्काल कार्यान्वयन नभएको विषय उल्लेख गर्दै समूह नेताहरूले विधि, पद्धति र अनुशासनमा जोड दिएका थिए । जनजीविकाको सवालमा सिंगो पार्टी लाग्नुपर्ने, एक व्यक्ति एक पदमा जानुपर्ने र कुनै पनि नेता तथा कार्यकर्ताले एउटै पदमा बढीमा दुईपटक मात्रै अवसर पाउनुपर्ने सुझाव टोली नेताको थियो ।

बैठकले राज्यका सबै अंग र तहमा भ्रष्टाचारको छानबिन गर्न र भ्रष्टाचारीहरूमाथि कारबाही गर्न सम्बन्धित निकाय र सरकारसमक्ष माग गरेको छ । राज्यका सबै अंगमा भ्रष्टाचार, कमिसनतन्त्र र बिचौलियाको दबदबा मौलाएको ठहर समाजवादीको छ ।

बैठकले एसपिपीमा नेपाल संलग्न नहुने निर्णयसहितको पत्र अमेरिकालाई पठाएकोमा नेपाल सरकारलाई धन्यवाद दिएको छ । बैठकले विपत्को पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ । सम्पूर्ण पार्टीपंक्तिलाई सम्भावित विपत् र त्यसको व्यवस्थापनका लागि तयार रहन समाजवादीले अपिल गरेको छ । बैठकले दैनिक उपभोग्य वस्तुहरूको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन, किसानलाई सहज तरिकाबाट मल तथा बिउबीजन आपूर्तिको व्यवस्था यथाशीघ्र मिलाउन माग गरेको छ । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *