ब्लग

ठोकर्पाले फेरि गुमाउने छैन अर्की काली पहरी !

काठमाडौँ । एकदिन आमाले मलाई २२ वर्षअघिको घटना सुनाइन् । घटना सुन्दै गर्दा म त्यस्तै १६ वर्षकी थिएँ होला । गाउँकै एक जना काकी सुत्केरी हुने समय भएको थियो । डाक्टरले दिएको सुत्केरी मितिभन्दा एक दिनअघि उनलाई गाडीमा हालेर अस्पताल लगियो । आमाले भने आँखाभरी टिलपिल आँसु बनाउँदै काली पहरीलाई सम्झिइन् । लामो सुस्केरा हालिन् अनि भनिन्, ‘यति सुविधा अथवा एउटा अस्पताल मात्रै भइदिएको भए आज काली पनि जिउँदै हुने हुन्थिन् हाेली ।’

मैले सोधेँ, ‘के भएको थियो आमा कालीलाई ?’ जवाफमा आमा भन्छिन्— ‘छोरो जन्माएकी थिइ । रगत बगेको बग्यै गरेर १ घण्टामा नै मरी । न अस्पताल थियो, न यातायातको सुविधा । उसलाई बचाउन न समय थियो, न साधन न कुनै उपाय । केही थिएन । त्यसैले मरी ।’

आमाले त्यसो भन्दा मेरो आङ सिरिङ्ग भयो । हुन त बाघ भैरव स्कूल पढ्दा मैले पनि कम्ता सास्तीचाहिँ झेल्नुपरेको थिएन । मेरी आमाले सम्पूर्ण श्रम र साधन लगाएर मलाई बचाएकी थिइन् । विद्यालयमा सौचालय थिएन । दिसा, पिसाबको लागि जंगलमा जानुपर्थ्याे । ८ कक्षामा पढ्दाको कुरा हो, अहिले पनि मलाई झलझली याद छ । साथीहरूसँग स्कूलकाे ३५ मिनेटको ब्रेकमा जंगलमा पिसाब फेर्न जाँदै थिएँ । बाटोमा चिप्लिएर देब्रे हात भुइँमा टेक्न पुगेँ । एकछिन दुखाइको रन्कोले आँखै देखिनँ । स्कूल नजिकै एउटा मेडिकल थियो । पछि नक्कली लाइसेन्स केशमा गाउँबाटै मेडिकलवालाले लखेटिदिए । उनैकोमा स्कूलका साथीहरू र शिक्षक मिलेर लगे । मेडिकलवालाले हात त भाँचिएको जस्तो छ भनेपछि आमालाई बोलाइयाे ।

खेतका गह्रा र कुलोमा मरिरहेको अवस्थामा शिशुहरू भेटिन्थे । यो सबैको प्रत्यक्षदर्शी म आफैँ पनि हुँ ।

घरमा गाईवस्तु; त्यही भएर पनि बुबा-आमा दुवैजनाले घर छाड्न मिल्दैन थियो । बुवा घरमा बस्नुभयो । आमाले मलाई पिँठ्युमा पटुकीले बाँधेर सुकुटे बजार झारिन् । त्यो ६ किलोमिटर बाटो एक्लै । अहो ! कस्ती साहसी मेरी आमा । बाटोमा कहिले मलाई हिँडाउँथिन् । म मुस्किलले १५ पाइला चालेपछि दुख्यो भनेर रुन थाल्थेँ । हात बिग्रिएकाे भोलिपल्टको कुरा थियो यो । आमाले बिहान ६ बजे मलाई घरबाट लिएर हिँडेकी थिइन् । ३ घण्टापछी हामी ९ बजेतिर सुकुटे पुग्यौँ । त्यहाँबाट खाँडीचौरको बस चढेर गयौँ । सिन्धु सदाबहार अस्पताल खाँडीचौरमा हातको एक्सरे भयो । हात भाँचिएकै पुष्टि भयो ।

आमाले हात प्लाष्टर गराएर बेलुका त्यो ६ किलोमिटर बाटो हिँडाएरै सुकुटेबाट मलाई ठोकर्पा पुर्‍याइन् । कहिले कोखा दुखेर त कहिले निमोनियाँले सबैभन्दा नजिक जानुपरे खाँडीचौर र अलि राम्रो अस्पताल आउनुपरे धुलिखेल आउनुपर्ने बाध्यता छँदै थियाे । समय र रोग सबैलाई मलाई झैँ कमसेकम आफ्नाे बस र सापेक्षतामा हुँदैन थियाे । अधिकांशको अवस्था काली पहरीको जस्तै थियो । उनलेझैँ ज्यान गुमाउने धेरै थिए ।

काठमाडौँबाट ६५ किलोमिटर सुकुटे र सुकुटेबाट ६ किलोमिटर ठोकर्पाका मानिसको यस्तो अवस्था थियो भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । दूरीले राजधानीबाट टाढा नभएपनि भौगोलिक विकटताले गर्दा ठोकर्पावासीले यी सबै दुःखका महासागर तरेका थिए । कच्ची मोटरबाटो त्यसमा पनि सुकुटेमा पक्की पुल थिएन ।  यातायातको असुविधाले गाउँले धेरै दुःख झेल्नुपरेको थियो । ठोकर्पामा रहेका पहरी समुदायले झेलेको दुःखको झन् कुनै लेखाजोखा नै थिएन । अल्पसंख्यकमा परेका जनजातिअन्तर्गतका पहरी समुदायमा शिक्षा र चेतनाको अभाव थियो । झन् गाउँमा अस्पताल नहुँदा उनीहरूको समुदायमा शिशु र मातृ मृत्युदर उच्च थियो ।

खेतका गह्रा र कुलोमा मरिरहेको अवस्थामा शिशुहरू भेटिन्थे । यो सबैको प्रत्यक्षदर्शी म आफैँ पनि हुँ । दुःखका पहाड साना थिएनन् । ठोकर्पाले सानो चुनौतीलाई आफूसँगै बोकेर हिँडेको थिएन । उसलाई काली पहरीको सन्तान बचाउनुपर्ने थियो । शिशु मृत्युदर र मातृ मृत्युदर घटाउनुपर्ने थियो । तर समय सधैँ उस्तै रहेन । सुकुटेमा २०७२ सालदेखि पक्की पुल निर्माण भइ सुचारु भयो । यातायातमा सहजता त हुने नै भयो । झन् २०७७ मा त सुकुटे ठोकर्पा जोड्ने बाटो नै पिच भयो । स्थानीय तहका प्रतिनिधिले बितेको ५ वर्षमा ठूलै चमत्कार गरे, कमसेकम ठाेकर्पावासीका लागि । त्यसमा पनि सबैभन्दा ठूलो चमत्कार त ठोकर्पामा १० बेडको अस्पताल सञ्चालनमा आयो ।

||ठाेकर्पामा बनेकाे एक एक पाईला ठाेकर्पा आधारभूत अस्पताल । तस्बिर : मकालुखबर||

हो यही असार १० गतेबाट सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका १ ठोकर्पामा एक एक पाईला ठोकर्पा आधारभूत अस्पताल सञ्चालनमा आएको छ । यो समाचारले म गद्गद भएको छु । अस्पतालमा अत्याधुनिक मेसीन जडान गरिएको, भिडियो एक्सरे, एक्सरे र ओपीडीसम्बन्धी सेवा पाइने खबरले झन् भुइँमा खुट्टै छैन । वरिष्ठ चिकित्सकले सेवा दिनेछन् भनेको सुन्दा मन चङ्गा भएको छ ।

अहो ! ठोकर्पा तिमी त समृद्ध भएकी छ्यौ । सुखी भएछौ । तिमीलाई बितेका काली पहरीहरूको आशीर्वाद छ । आँखाका ज्योति फर्कादिएछौ । ती आमा बुबाको आशीर्वाद छ । अब फेरि अर्की सुत्केरी आमाले रगत बगाएर पहरीलेझैँ कसैले मृत्यु कुर्नुपर्ने छैन । ठोकर्पाको काखमा कसैको पनि उपचार नै नपाएको कारणले ज्यान गुमाउने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *