पेट्रोलियम अन्वेषणको काम पुनः अघि बढाइँदै

काठमाडाैँ । कोरोना महामारीका कारण रोकिएको नेपालको पेट्रोलियम अन्वेषणको काम पुनः अघि बढ्ने भएको छ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा अघि बढाइने भनिएको अन्वेषणको काम कोरोनाका कारण दुई वर्षदेखि रोकिएको थियो । महामारीको प्रभाव घट्दै गएपछि अन्वेषणको काम अघि बढाउन चिनियाँ टोली नेपाल आएको हो ।

चिनियाँ टोली आएपछि कोरोनाका कारण रोकिएको अन्वेषणको कामले गति लिने संकेत मिलेको खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सुधीर रजौरेले जानकारी दिए । आइतबार नेपाल आइपुगेको चाइना जियोलोजिकल सर्भेका सात सदस्सीय टोलीले सोमबार विभागका महानिर्देशकलाई भेटेका छन् । उनीहरूले अहिले दैलेखमा अन्वेषणको पूर्वतयारीका काम गर्ने महानिर्देशकले जानकारी दिए ।

२८ फेब्रुअरी २०१९ मा खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच पेट्रोलियम खानी अन्वेषणको काम अघि बढाउने सम्झौता भएको थियो । जसअनुसार बुटवल र पाल्पा तथा सुर्खेत र दैलेखमा तीन वर्षभित्र अन्वेषण सक्ने तयारी छ । त्यसपछि दैलेखको शिरीस्थान, नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अन्वेषणको पूर्वतयारीका लागि प्रारम्भिक चरणका कामसमेत गरिएको थियो । तर, कोभिड सुरु भएपछि ती सबै काम रोकिएका थिए ।

‘कोभिडका कारण रोकिएको पेट्रोलियम अन्वेषणको काम अब अघि बढ्नेछ, चिनियाँ टोलीले अहिले अन्वेषणको पूर्वतयारीका लागि स्थलगत निरीक्षण गर्नेछन्, ड्रिलिङपूर्वको तयारी गर्नेछन्,’ उनले भने, ‘वर्षायाम सकिएपछि अन्वेषणकको कामले गति लिनेछ ।’

चीनको आर्थिक र प्राविधिक सहयोगमा अघि बढेको परियोजना
तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा ८ चैत ०७२ मा नेपाल र चीनबीच १० बुँदे समझदारी भएको थियो । त्यसमा नेपालको पेट्रोलियम र ग्यास अन्वेषणमा चीनले सघाउने उल्लेख थियो । त्यसको झन्डै एक वर्षपछि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा १५ अगस्ट २०१७ मा नेपालको पेट्रोलियम तथा ग्यास अन्वेषणको सम्भाव्यता अध्ययन गर्न दुई मुलुकबीच सम्झौता भयो ।

१४ जनवरी २०१९ मा मन्त्रिपरिषद्ले पेट्रोलियम खानी अन्वेषण कार्यान्वयनका लागि सम्झौता गर्न खानी तथा भूगर्भ विभागलाई स्वीकृति दिएको थियो । २९ पुसको मन्त्रिपरिषद्को बैठकले इम्प्लिमेन्टेसन एग्रिमेन्ट अफ चाइना अन आयल एन्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल स्वीकृत गरेको थियो । २८ फेब्रुअरी २०१९ मा खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेसँग पेट्रोलियम खानी अन्वेषणको काम अघि बढाउने सम्झौता भएको थियो । चीनले यस परियोजनाका लागि करिब दुई अर्ब रुपैयाँ खर्च गर्नेछ ।

के-के गर्छ चिनियाँ टोलीले ?
प्रोफेसर छाङ फोयङ नेतृत्वको टोली करिब २० दिन नेपालमा रहनेछ । त्यस अवधिमा चिनियाँ टोलीले दैलेखमा अन्वेषणका लागि आवश्यक ह्याभी इक्विपमेन्ट (ठूला मेसिनरी) कुन बाटो हुँदै कसरी लैजाने, ड्रिलिङ कहाँ–कहाँ गर्ने ? मेसिनरी कहाँ राख्ने भन्नेलगायतको अध्ययन गर्नेछन् । खासगरी यस अवधिमा खानी स्टल र त्यहाँसम्म पुग्ने बाटोको स्थलगत निरीक्षण गरिनेछ । त्यसमा चिनियाँ टोलीलाई विभागका कर्मचारीले समेत सघाउनेछन् । ‘निरीक्षण र ड्रिलिङको पूर्वतयारीको काम सकेर चिनियाँ टोली फर्कनेछ,’ उनले भने, ‘वर्षायाम सकिएपछि उनीहरू फेरि आउनेछन् र अन्वेषणलाई गति दिनेछन् ।’

यस्तो छ हालसम्मको प्रगति
दैलेखका विभिन्न भूभागहरूमा पेट्रोलियम पदार्थ खोलामाथि तैरिएको तथा ग्यास बलिरहेको देखिने हुनाले त्यस क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको अनुमान विभागको छ । चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा संकलन गरेका स्रोत र चट्टानको नमुना परीक्षणले पनि त्यहाँ पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावना देखाएको छ । तर, कुन क्षेत्रमा के–कति पेट्रोलियम छ भन्ने यकिन भने अन्वेषणबाट मात्रै गर्न सकिने महानिर्देशक रजौरे बताउँछन् ।

दैलेखमा पेट्रोलियम अन्वेषणका लागि तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर–दक्षिण दिशामा खनिएका १० वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएको र प्रतिवेदनको सकारात्मक नतिजा आएको विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए । दैलेखका पूर्व–पश्चिमका विभिन्न क्षेत्रहरूमा सामान्य ड्रिलिङका कामहरू भने भइसकेका छन् । अब जमिनमुनि करिब चार किलोमिटर ड्रिलिङ गरेर अन्तिम अन्वेषणको काम सुरु हुने भएको छ । दैलेखको नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिकालाई अध्ययनको विशेष क्षेत्र बनाइएको छ । डुंगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकाका केही भूभाग समेटेर १० वटा सिस्मिक लाइनहरूमा सर्भे सम्पन्न गरिसकेको उनले बताए । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *