को हुन् श्रममन्त्री शेरबहादुर कुँवर ? 

यस्तो छ सामाजिक र राजनीतिक यात्राको नालीबेली

काठमाडौँ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त भएका छन् । नेकपा एकीकृत समाजवादीको गत जेठ २० गते बसको सचिवालय बैठकले कुँवरसहित अन्य ४ जनालाई मन्त्रीका लागि सिफारिस गरे पनि झण्डै २४ दिनपछि मन्त्री नियुक्त भएका हुन् ।

विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका कुँवर स्वच्छ छवि भएका नेता मानिन्छन् । तत्कालीन माओवादी जनयुद्धमा समेत नेकपा एमालेलाई जिल्लामा स्थापित गराउन नेता कुँवरले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

मन्त्री कुँवरको जन्म अछाम जिल्लाको साबिक पायल गाविस बडा नम्बर ५ मा स्व. कर्णसिंह कुँवर र वसुन्धरा कुँवरको कान्छो सन्तानको रूपमा २०२३ साल वैशाख २६ गते जन्म भएको हो । यद्यपि उनको नागरिकतामा भने २०२३ भाद्र ६ गतेको जन्म मिति उल्लेख रहेको कुँवर बताउँछन् । कुँवर पाँच दाजु र तीन दिदीहरूमध्ये कान्छो सन्तान हुन् । हाल २ जना दिदी र माइलो दाजुको स्वर्गारोहण भइसकेको छ ।

सादगीपन र स्वच्छ छवि भएका नेता कुँवर पार्टीभित्र कुशल संगठक मानिन्छन् । २०३९ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट औपचारिक राजनीतिमा होमिएका उनी हालसम्म निरन्तर कम्युनिष्ट राजनीतिमा सक्रिय छन् ।

नेता कुँवरले पटक पटक पार्टीको जिल्ला तहको नेतृत्व सम्हालेका छन् । उनले २०६२ मा तत्कालीन एमालेको जिल्ला कमिटी सचिव, २०६९ मा एमाले जिल्ला कमिटी अध्यक्ष, वि.सं. २०७६ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कमिटी अध्यक्ष, नेकपा विभाजनपछि २०७८ मा नेकपा एकीकृत समाजवादीको पहिलो जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । नेता कुँवर २०७४ मा नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए ।

हाल उनी नेकपा एसको प्रदेश कमिटी उपाध्यक्ष, सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुख एवं केन्द्रीय संगठन विभाग सदस्य हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन् ।

नेता कुँवर विद्यार्थी कालदेखि जुझारु नेता मानिन्छन् । पार्टी संगठनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार रहने नेता कुँवर विभिन्न आन्दोलनका क्रममा गिरफ्तार समेत परेका थिए । उनी २०४७ को जनआन्दोलनमा काठमाडौँको बग्गीखानामा एक हप्ता जेल परेका थिए । यस्तै २०५१ मा गाउँमा अन्यायका विरुद्ध आवाज उठाउँदा सार्वजनिक मुद्दा लगाइएपछि झण्डै पाँच दिनसम्म उनी थुनामा परेका थिए ।

तत्कालीन माओवादी जनयुद्धका कारण अन्य पार्टीहरू संकटमा परिरहेका बेला नेता कुँवरले अछाममा नेकपा एमालेको बिउँ जोगाएका थिए । सो समयमा अछाम सदरमुकाम मंगलसैनमा रहेर उनले कठिन र जोखिमयुक्त राजनीतिक यात्रा अघि बढाएका थिए । यद्यपि जिल्लामा बसेर पार्टी क्रियाकलापमा सक्रिय भए पनि जनयुद्धको समयमा समेत कुनै सुरक्षा थ्रेट नआएको उनी बताउँछन् ।

मन्त्री नियुक्त भएका कुँवरले मन्त्री पदमा सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिन लागेका हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठले आइतबार नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *