याेगेशले झिके पुराना सवाल- ‘माधव नेपाल जबजका पक्षमा अन्तिममा मात्रै खुल्नुभएकाे हाे’

काठमाडाैँ । नेकपा [एमाले]का सचिव याेगेशकुमार भट्टराईले नेकपा [एकीकृत समाजवादी]का अध्यक्ष माधवकुमार नेपालका कारण आफूले २०५३ सालमा अखिलकाे अध्यक्षबाट राजीनामा दिनुपरेकाे स्मरण गरेका छन् । त्याे समय नेपाल एमालेका महासचिव थिए । साेमबार बिहान आफ्नाे आधिकारिक फेसबूकमार्फत् भट्टराईले भनेका छन्, ‘२०५३ सालमा म अखिलको अध्यक्ष थिएँ राष्ट्रिय सम्मेलनबाट चुनिएको । उहाँ पार्टीको महासचिव । उहाँ र मेरो बीचमा समस्या उत्पन्न भयो । उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ ।’

यस्तै उनले पुराना सवाल झिक्दै माधव नेपाल मदन भण्डारीकाे जनताकाे बहुदलीय जनवाद [जबज]का पक्षमा अन्तिममा मात्रै खुलेकाे सम्झेका छन् । ‘नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा उहाँ अन्तिमतिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरूदेखिनै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हाैँ,’ उनले भनेका छन् ।

यसअघि भट्टराईले नेपालप्रति लक्षित गर्दै मुख नछाड्न भनेका थिए । यसपछि आफ्नाे बाेलीले एकीकृत समाजवादीका नेताहरूकाे मन दुखेकाे उल्लेख गर्दै उनले भनेका छन््, ‘कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस् शुभकामना !’

उनले ‘कमरेड माधव नेपाल र म’ शिर्षक दिएर पुराना दिनहरूकाे स्मरण गरेका छन् । भट्टराईले बुँदागतरूपमा नेपाल र आफ्नाे सम्बन्धलाई यसरी देखाएका छन् ।

१. पञ्चायतकालमा कमरेड रञ्जनकाे उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।
२. उहाँमा थुप्रै राम्रा गुणहरू छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विराेध गरेको छु । उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन् र यो जारी रहने छ ।
३. नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा उहाँ अन्तिमतिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरूदेखिनै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हाैँ ।
४. छैठौँ महाधिवेशनमा उहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थिएन ।
५. सातौँ महाधिवेशनबाट उहाँ पुन: पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थियो ।
६. आठौँ महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नुभयो । हामी उहाँसँग लागेनौँ ।
७. नवौँ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनुभयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियाैँ । जित्नु भएन ।
८. प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो, मैले मानिनँ र गरिनँ ।
९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाइ रह्यो, अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिनँ । त्यसमा मलाई पछुतो छैन ।
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । उहाँ पार्टीको महासचिव । उहाँ र मेरो बीचमा समस्या उत्पन्न भयो । उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ ।
११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरूले मलाई व्यक्ति,  घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरूप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाललगायत सबैलाई यही मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्धसमर्थक र अन्धविराेधी हाेइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =