एमालेसँग वार्ताका लागि नेकपा एसका दुई सर्त

काठमाडाैँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ । यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ । दस महिनाअघि एमालेबाट विभाजन भएको सो पार्टीले आफूहरूको अस्तित्व स्वीकार गर्नुपर्ने र संसद् विघटन बारेमा छलफल गर्न तयार हुनुपर्ने सर्त अघि सारेको हो ।

शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले हालको पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता राख्ने तर कसैको शरणमा नपर्ने निर्णय गरेसँगै एमालेसँगको सहकार्य वा गठबन्धनका लागि यी दुई सर्त अघि सारेको हो । पार्टीका सम्मानित नेता झलनाथ खनालले पाँच दलीय गठबन्धनको मात्रै भर गर्न नहुने र एमालेसँग पनि सहकार्यको ढोका खुला गर्नुपर्ने धारण राखेका थिए ।

‘एमालेसँग सहकार्य हुनसक्छ तर त्यसका लागि दुई सर्त छन्, पहिलो पार्टीको अस्तित्व स्वीकार गर्नुपर्छ, दोस्रो संसद् विघटनका विषयमा छलफल गर्न तयार हुनुपर्छ,’ पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने । केन्द्रीय कमिटीको बैठकमा नेता खनालले एमाले अध्यक्ष केपी शर्माको घमन्डका कारण दुईपटक संसद् विघटन भएको बताउँदै संसद् विघटनबारे खुला छलफल गर्न तयार हुनुपर्ने बताएका थिए । -नागरिक दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *