वाम गठबन्धन गर्न किन चाहँदैनन् केपी ओली ?

काठमाडौँ । ‘नेकपा एमालेले कसैलाई पनि लखेटेको छैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि हामीले लखेटेको होइन । प्रचण्डले एकता गर्दा पनि इमान्दारीसाथ एकता गर्नुभएन । उहाँले एकतामा पनि इमान देखाउनुभएन, बरु पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट समेत निकाल्नुभयो’ शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले अध्यक्ष केपी ओलीले भनेका शब्दवाण हुन् यी ।

उनले यसो भनिरहँदा एमालेकै कतिपय नेताहरू वाम गठबन्धनको लागि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेतासँग कुराकानी चलाइरहेका थिए । अहिले एमालेमा एउटा ढिक्का वाम गठबन्धनको पक्षमा र अर्को ढिक्का वाम गठबन्धनको विपक्षमा देखिएको छ । वाम गठबन्धनलाई अगाडि बढाउनुपर्छ, सके त पार्टी नै एकीकरण गर्नुपर्छ भन्नेमा घनश्याम भुसाललगायतका नेताहरू छन् । तर, पछिल्लो समय पार्टी एकीकरणमा प्रचण्डले नै बेइमानी गरेको अभिव्यक्ति अध्यक्ष ओलीबाट आएका हुनाले वाम गठबन्धन कसरी हुनसक्छ भनेर मुखामुख गरिरहेका छन् ।

बालकोटमा पुग्ने एमालेका नेताहरूलाई अध्यक्ष ओलीले एक्लै चुनावमा जाने गरी तयारी गर्नूस् भनेर फर्काइरहेका छन्, जसका कारणले पनि स्वयं ओली वाम गठबन्धनको पक्षमा नरहेका ओलीनिकट एक नेता बताउँछन् । ती नेताका अनुसार अध्यक्ष ओलीले बालकोटमा नेताहरूलाई बोलाएर कुराकानी गरिरहेका छन्, तर उनले एक्लै चुनावी मैदानमा उत्रने गरी तयारीमा लाग्न निर्देशन दिइरहेका छन् ।

यसबाट पनि के प्रष्ट हुन्छ भने एमाले अध्यक्ष ओली वाम गठबन्धनको पक्षमा छैनन्, एक्लै चुनावमा जान तयार छन्, बरु हारजितलाई सहज रूपमा लिन तयार भएका ती नेता बताउँछन् ।

केही दिनअघि डा. सुरेन्द्र मानन्धरलाई ओलीले बालकोट बोलाएर पार्टी एक्लै चुनावमा जाने र त्यसको तयारीमा लाग्न भनेका थिए । पछिल्लो समय मानन्धर अध्यक्ष ओलीसँग खुसी थिएनन् । उनले पार्टी नेतृत्वले आफूलाई कर्नरमा पारेको गुनासो पनि गरे । लामो समयसम्म माधव नेपाल समूहमा बसेका मानन्धर अन्तिम समयमा एकीकृत समाजवादीमा नगई एमालेमै फर्केका थिए । नेता मानन्धर पनि वाम गठबन्धनको पक्षका नेता हुन् । ओलीसँगको भेटपछि नेता मानन्धरले सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

वैशाख ३१ गते भएको स्थानीय तहको चुनावमा एमाले पहिलो दलबाट दोस्रो दलमा खुम्चिएपछि एमालेभित्र आगामी चुनावमा वाम गठबन्धनलाई अगाडि बढाउने विषयले खुब चर्चा कमाएको छ, कतिपय नेता भेटघाटमा समेत लागेका स्रोत बताउँछ । कतिपय एमालेका केन्द्रीय नेताहरू नै चुनावमा वाम गठबन्धन नगरे पाँच दलीय गठबन्धनले एमालेलाई बढार्ने बताउँदै वाम गठबन्धनको पक्षमा उभिन थालेका छन् ।

वाम गठबन्धनको विषय उठाउन एमाले नेताहरू बालकोटसम्म पुगिरहेका छन् । एमालेका एक नेताका अनुसार अध्यक्ष केपी ओली नै वाम गठबन्धनको पक्षमा छैनन् । ती नेताले भने, ‘अध्यक्ष ओली नै वाम गठबन्धनको पक्षमा देखिनुभएको छैन, उहाँलाई महासचिव शंकर पोखरेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेताहरू प्रदीप ज्ञवालीलगायतले दह्रोसँग साथ दिएका छन् ।’

ओलीले पार्टीमा रहँदा माधव नेपालको पक्षमा रहेका नेताहरू जुन अहिले एमालेमा फर्केका छन्, ती नेताहरूलाई पालैपालो बालकोटमा बोलाइरहेका छन् । उनले सिंगो पार्टी एक्लै चुनावमा लड्ने संकेत दिइरहेका छन् ।

एमालेले स्थानीय चुनावमा हार व्यहोर्दा पनि अध्यक्ष ओली र उनी निकटका नेताबाट वाम गठबन्धन गर्नुपर्ने धारणा कतै राखेका छैनन्, यसको मतलब हारबाट एमाले वाम गठबन्धनको लागि अघि सर्छ भन्ने माआवादी केन्द्रको अनुमान पनि मिथ्या सावित भएको छ । बालकोटमा बाक्लिएको भेटवार्तामा एक्लै चुनाव लड्ने ओलीको अभिव्यक्ति र उनीनिकटका अन्य नेताहरूको भनाइले पनि ओली वाम गठबन्धनको पक्षमा छैनन् ।

‘अहिलेको पाँच दलीय गठबन्धन भत्काउन पनि वाम गठबन्धन गर्नुपर्छ भन्ने अभिमत बढ्दै गएको छ, पाँच दलीय गठबन्धनसँग एक्लै लड्दा स्थानीय चुनावमा ठूलो हार भयो’ एमालेका अर्का एक नेताले भने, ‘एमाले अहिले पनि कमजोर छैन, अहिले गठबन्धनसँग एक्लै लड्न तयार छ, तर वाम गठबन्धन गर्दा राम्रो हुन्छ भन्ने नेता तथा कार्यकर्ताको अभिमत छ ।’

उनका अनुसार ०७४ को चुनावबाट एमाले बहुमत ल्याउनुमा पनि वाम गठबन्धनको कारणले हो । प्रतिनिधिसभाका मात्रै नभएर राष्ट्रियसभाका अधिकांश सांसदहरू पनि वाम गठबन्धनको पक्षमै छन् । तर, ओली यसलाई स्वीकार्न तयार छैनन् । उनीनिकट एक नेताले भने, ‘पार्टी एकीकरण गर्दा त बचेन भने वाम गठबन्धनको के अर्थ रहन्छ, एमाले पार्टी फुटाएर कांग्रेसको बैसाखी बन्नेहरूसँग वाम गठबन्धन गर्ने, एक भएको पार्टीबाट चोइटिएर जानेसँग गठबन्धन हुनै सक्दैन, एमाले पाँच दलीय गठबन्धनसँग एक्लै लड्छ, एक्लै लडेर ठूलो पार्टी बन्छ, हेर्दैजानुहोला ।’

ती नेताका अनुसार नेपाली कांग्रेस आफू सिद्धिएर भए पनि पाँच दलीय गठबन्धन जोगाउन चाहन्छ, कांग्रेस पाँच दलीय गठबन्धन जोगाउन जस्तोसुकै हर्कत गर्न तयार भइरहेको छ । उनले भने, ‘स्थानीय तहमा अहिले केही सिट बढी जितेर कांग्रेसलाई गठबन्धनले फाइदा पनि भयो होला, तर सधैँ यस्तो त हुँदैन । कहिलेसम्म अर्काको बुई चढिरहने, एकपटक त अवश्य झर्नपर्छ होला नि ?’

वाम गठबन्धन भइहाले पनि ०७४ को जस्तो नतिजा नआउने बुझाइले पनि एमाले एक्लै लड्ने तयारीमा पुगेको ती नेता बताउँछन् । उनी भन्छन्, ‘अब एमालेलाई वाम गठबन्धनभन्दा एक्लै लडे फाइदा छ, बहुमत कसैको आउने देखिन्न, ठूलो पार्टी एमाले बन्छ, चुनावपछि एमालेको सरकार बन्छ । एमाले दोस्रो पार्टी बनिहाल्यो भने पनि अरू पार्टीसँग मिलेर सरकार चलाउँछ, अहिले पहिलो पार्टी भएर एमाले सत्ताबाहिर छ, त्यो बेलामा पहिलो पार्टी बाहिर रहन पनि सक्छ ।’

गठबन्धनले पार्टी र सिद्धान्त बन्दैन, जसका कारण गठबन्धन लामो समयसम्म जाँदैन भन्ठानेर एमाले अध्यक्ष ओली पनि अहिलेको गठबन्धन आफै भत्कनेमा विश्वास गरिरहेका छन्, जसका कारण उनी वाम गठबन्धन वा वाम तालमेलमा जान तयार नभएका अर्का एमाले नेता बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *