विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले स्तनपायी आमाहरुको सहजताको लागि रिाटनगर महानगरपालिकाले स्तनपान कक्ष निर्माण गर्ने नीति लिएको छ ।

आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विराटनगर महानगरपालिकाले महिला प्रजनन, बालिका शिक्षा तथा छोरी बचाऊ अभियानलाई समेटेको छ । महिलाहरूको प्रजनन स्वास्थ्य तथा बालबालिकाहरूको स्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन, ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकका लागि स्वास्थ्य बिमा गरिदिने बजेट नीति तथा कार्यक्रममा उल्लेख छ ।

मातृ तथा बाल मृत्युदर कम गर्न र जनमजात अपांगतालाई समयमै पहिचान गर्न, महानगरका सम्पूर्ण वडामा गर्भवतीहरूको लागि निशुल्क भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याइने महानगरले जनाएको छ । गर्भवती तथा सुत्केरी महिला, अपांग तथा जेष्ठ नागरिकलाई अस्पतासम्म सहज पहुँचका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पनि भनिएको छ ।

‘छोरी बचाऊ, छोरी पढाऊ’ कार्यक्रम अन्तर्गत पहिलो र दोश्रो सन्तान छोरी जन्माउने आमाहरूलाई प्रोत्साहनबापत उपलब्ध गराउँदै आएको रकमलाई यो वर्षको नीति तथा कार्यक्रम र बजेटले समेटेको उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् ।

३ अर्ब ६२ करोड बजेट
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-०८० को लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट प्रस्तुत गरेको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ ५५ करोड ३५ लाख ५० हजार विनियोजन गरेको छ ।

पूर्वाधार विकासतर्फ सबैभन्दा धेरै १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकास क्षेत्र तर्फ २७ करोड ७३ लाख, सामाजिक विकास तर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ७ करोड ७७ लाख र वातावरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड ६० लाख विनियोजन गरिएको छ ।

विराटनगर महानगरपालिकाको दशौँ नगरसभामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपप्रमुख शिल्पा निराला कार्कीले वडा स्तरीय आयोजनामा रु. ४१ करोड ६८ लाख१७ हजार, नगरस्तरीय योजजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवको आयोजनाका लागि २९ करोड, क्रमागत योजनाको भुुक्तानीका लागि ४० करोड, आयुडिपी परियोजनाबाट निर्माण भएको कालोपत्रे सडक मर्मत सम्भारका लागि १४ करोड बजेट छुट्याइएको छ ।

अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख र समपुरक कोषमा ४ करोड ८० लाख विनियोजन गरिएको छ ।

महानगरपालिकाले प्रस्तुत गरेको स्रोत सुनिश्चितताको आधारमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणतर्फ १ अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ ४ करोड ९१ लाख ९७ हजार, राजश्व बाँडफाँडबाट रु. १ अर्ब १३ करोड ९९ लाख ७० हजार अनुमान प्रस्तुत गरिएको छ ।

त्यस्तै, आन्तरिक आय तर्फ १ अर्ब, जनसहभागीतामा ८ करोड, अन्य अनुदान तथा ऋण १० करोड १९ लाख अन्य संघ संस्था ३ करोड ६० लाख हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *