थुलुङ दुधकाेशीले ल्यायाे ५१ करोड ८३ लाखकाे बजेट, अघि सार्‍याे तेलमा आत्मनिर्भर बन्ने कार्यक्रम

साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिकाले ५१ करोड ८३ लाख ९६ हजार ४० रुपैयाँकाे बजेट ल्याएकाे छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ काे असार १० भित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्थाअनुसार गाउँपालिकाकाे शुक्रबार बसेकाे दोस्रो गाउँसभाको पहिलो अधिवेशनले याे अनुपातकाे बजेट प्रस्तुत गरेकाे हाे । संघ, प्रदेश र आन्तरिक अनुमानित आम्दानीको मातहत रहेर गाउँपालिकाले आव २०७९/८० का लागि याे अनुपातकाे बजेट प्रस्तुत गरेकाे हाे ।

स:शर्त अनुदान २५ करोड २ लाख, संघीय समानीकरण अनुदान १४ करोड २१ लाख, राजस्व बाँडफाँट ८ करोड ५५ लाख ९३ हजार, समपूरक अनुदान १ करोड १० लाख, विशेष अनुदान ५० लाख, प्रदेश सरकारको समानीकरण अनुदान ७८ लाख १६ हजार गरी ५१ करोड ८३ लाख ९६ हजार ४० रुपैयाँकाे बजेट ल्याइएकाे वडा नं. ७ का वडाध्यक्षसमेत रहेका गाउँपालिका प्रवक्ता भाेजराज कार्कीले जानकारी दिए ।

त्यस्तै, राजस्व बाँडफाँट २८ लाख ४३ हजार र आन्तरिक आम्दानी १ करोड ८ लाख ४३ हजारसमेत त्यहीभित्रसमावेश गरिएकाे छ ।

आजै गाउँपालिकाकी उपाध्यक्ष सविता राईले नीति तथा कार्यक्रमसमेत पेश गरेकी छन् । नीति तथा कार्यक्रममा तेलमा आत्मनिर्भर बन्ने, कृषि एम्बुलेन्स सञ्चालन गर्ने, खानेपानी बोर्ड गठन गर्ने, राष्ट्रिय प्रशारण लाइन विद्युत् विस्तार गरी ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने, विद्युत् बस सञ्चालनका लागि चार्जिङ्ग स्टेसन निर्माण गर्ने, गाउँपालिकालाई प्रविधिमैत्री बनाउनेलगायत छन् ।

यी कार्यक्रमहरूलाई यथाशक्य चाँडाे र गाउँपालिकामैत्री तवरबाट लागू गरिने गाउँपालिका अध्यक्ष असिम राईले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *