सहमतिपत्र सार्वजनिक भएपछि कांग्रेस बागमती प्रदेशले भन्याे- पाण्डेकाे समय सकियो, अब बानियाँ मुख्यमन्त्री

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री राजेन्द्र पाण्डेको समयावधि सकिएको जनाएको छ । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले आधा-आधा समय मुख्यमन्त्री पाउने सहमति भएको र अब मुख्यमन्त्री पाण्डेको समय सकिएको नेपाली कांग्रेस बागमती प्रदेशका कार्यसम्पादन सदस्य कैलाश कोइरालाले बताए । मकालुखबरसँगको कुराकानीका क्रममा उनले भनेका छन्, ‘एकीकृत समाजवादी र कांग्रेसबीच आलोपालो मुख्यमन्त्री हुने सहमति भएको हो, बजेट भाषणपछि राजेन्द्र पाण्डेले मुख्यमन्त्री छोड्ने सहमति ९ महिनाअघि नै भएको हो ।’

उनले अब नैतिकताको हिसाबले पनि पाण्डेले बानियाँलाई मुख्यमन्त्रीकाे कुर्सी सुम्पनुपर्ने बताए । नेपाली कांग्रेसले यसअघिको सहमति पत्र सार्वजनिक गरेको छ । यस विषयमा कोइराला भन्छन्, ‘सहमति भएको हो, कार्यान्वयन नभएपछि कसैले पत्र सार्वजनिक गरेको हुनसक्छ ।’

♦ याे पनि:
   बागमती प्रदेश : बाहिरियाे आधा-आधा अवधि मुख्यमन्त्री बन्ने सहमति, कार्यान्वयन भने भएन

२०७८ साल कात्तिक ७ गते नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच मुख्यमन्त्री कांग्रेस र समाजवादीले आलोपालो चलाउने गरी सहमति भएको थियो । सहमतिमा सत्तागठबन्धनका तर्फबाट मुख्यमन्त्री पाण्डे, कांग्रेस बागमती अध्यक्ष इन्द्रबहादुर बानियाँ र नेकपा माओवादी केन्द्रका नेता सालिकराम जमरकट्टेलको हस्ताक्षर गरेका छन् ।

कोइरालाकाअनुसार तीन दलको सहमतिका आधारमा २०७८ साल कात्तिक ११ गते एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री भएका हुन् । त्यसपछिको दोस्रो आधा अवधि कांग्रेसका बागमती प्रदेश अध्यक्ष बानियाँ मुख्यमन्त्री हुने सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *