अरुलाई विभाजन नहुन अनुराेध गर्दै ४ केन्द्रीय सदस्यले छाेडे विप्लवकाे साथ

काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ जना केन्द्रीय सदस्यहरूले पार्टी परित्याग गरेका छन् । नेता ओमप्रकाश पुनसहित शंकर खड्का, दलबहादुर धामी र रमेश परियारले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामा दिएका हुन् ।

प्रशिक्षणको क्रममा महासचिव विप्लव सुदूरपश्चिम प्रदेश पुगेका छन् । यसैबेला उनीहरूले पार्टी परित्यागकाे घाेषणा गरेका हुन् । विप्लव धनगढीमा हुने सुदूरपश्चिमस्तरीय कार्यकर्ता प्रशिक्षणको लागि अछाम हुँदै कैलाली पुगेका छन् ।

उनीहरूले विश्वकाे बदलिँदाे राजनीति र नेपालकाे राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै सामूहिक राजीनामा दिएकाे बताएका छन् । ‘नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान् जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्दै व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने अवस्था रहेको आवश्यकतालाई महसुस गरी त्यसैको प्रयासस्वरूप हामीले आजैको मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छाैँ,’ विज्ञप्तिमा भनिएकाे छ ।

स्थायी समिति सदस्यद्वय धर्मेन्द्र बाँस्ताेला र हेमन्तप्रकाश वलीले भने नेकपा बहुमत बनाइसकेका छन् । उनीहरूले महासचिव विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग वैचारिक असहमति राख्दै पार्टी विभाजन गरेका हुन् । यसपछि नेताहरूले विप्लवकाे साथ छाेड्न थालेका हुन् । विप्लव र प्रकाण्डले गत स्थानीय निर्वाचनमा हाेमिनुपर्ने बताएका थिए भने बाँस्ताेला-वलीले निर्वाचनमा हाेमिँदा आफूहरूले उठाउँदै आएकाे जनवादी क्रान्ति र वैज्ञानिक समाजवाद धुलिसात हुने बताउँदै आएका थिए ।

यसपछि विप्लव-प्रकाण्ड पक्षले केही जिल्लाहरूमा उम्मेदवार नै खडा गरेपछि बाँस्ताेला-वलीले बहुमत बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *