राप्रपाले गर्‍यो यी ७ जनपक्षीय निर्णय, समेटिए मलदेखि पाठ्यपुस्तकसम्मका मुद्दा

राप्रपाले भातृ संगठनलाई आन्दोलनमा उतार्ने, असार ३१ सम्मको कार्यक्रम सार्वजनिक

काठमाडौँ । राप्रपाले विभिन्न २२ सूत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि उसका भातृ संगठन आन्दोलित बनेका छन् । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

राप्रपाले खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मलको आपूर्ति हुन नसकेको र किसानका समस्यामा केन्द्रित भई असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ । यसैगरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखी असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय गरेको छ ।

बैठकले असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बिमा लगायतका माग सहित श्रम मन्त्रीलाई ज्ञापनपत्र पेस गर्ने निर्णय गरेको छ ।

असार २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गर्ने निर्णय गरेको राप्रपाले असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पठनपाठनको समय भइसक्दा पनि विद्यालयमा समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको भन्दै जनक शिक्षा सामग्री केन्द्र र कक्षा १२ सम्मको शिक्षालाई नि:शुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न उच्च माध्यमिक शिक्षा परिषद्मा ज्ञापनपत्र र धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

यसैगरी असार ३१ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसा विरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने भएको छ ।

प्रतिक्रिया

One thought on “राप्रपाले गर्‍यो यी ७ जनपक्षीय निर्णय, समेटिए मलदेखि पाठ्यपुस्तकसम्मका मुद्दा

  1. अति राम्रो निर्णय, सबै कार्यक्रमले सफलता र निरंतरता पाओस् ।

Leave a Reply

Your email address will not be published.